पोखरामा प्याराग्लाइडिङ दुर्घटना, प्यारापाइलट र पर्यटक घाइते
पोखरा : पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना हुँदा दुईजना पर्यटक घाइते भएका छन् ।
पोखराको सराङ्कोटबाट उडान भरी फेवाताल किनारमा अवतरणका क्रममा खपौदीस्थित बिजुलीको तारमा ठोक्किएर प्यारा खस्दा प्यारा चालक युक्रेनी र उनीसँगै उडेका चिनियाँ पर्यटक सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
अवतरणका क्रममा बिजुलीका तारमा ठोक्किँदा युक्रेनका ५० वर्षीय प्यारापाइलट अलेस र उनीसँगै उडेका ७ वर्षीय चिनियाँ पर्यटक याङ गुङ जी घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
ओपन स्काई प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेका युक्रेनका प्यारापाइलट २० वर्षदेखि पोखरामा वर्किङ भिसामा व्यवसायीक रुपमा प्याराग्लाईडिङ गर्दै आएको कम्पनीका संचालक प्रज्वल रञ्जितले बताए ।
प्याराग्लाईडिङ उडानमा दक्ष उनी अवतरणका क्रममा हावा लागेर सामान्य भूमरी आएको कारण प्यारा अनब्यालेन्स भएर तारमा ठोक्किएर प्यारा खस्दा दुर्घटना भएको बताइएको छ ।
उनीहरुको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भएको थियो । शाहसिक खेलको राजधानी मानिने पोखरामा पछिल्लो समय प्याराग्लाईडिङ पर्यटक एक पछि अर्को दुर्घटनामा परेका छन् ।
गत फागुनमा प्याराग्लाइडिङ दुर्घटनामा दुईजना सोलो (एक्लै उडेका) प्यारापाईलोटको मृत्यु भएको थियो ।