नेपालगन्जमा अझै भारतीय माछा
नेपालगन्ज : न पसलको बोर्ड। न पसल दर्ताको प्रमाणपत्र नै। सटर अगाडि टाउकोमा सेतो गम्छा बाँधेका रफिक अन्सारी माछा काट्दै थिए। ‘माछा कति रुपैयाँ किलो हो’, मंगलबार बिहान ९ः४५ मा पसल पुगेका संवाददाताको जिज्ञासामा अन्सारीले भने, ‘प्रयास माछा हो काँडा हुन्न। २ सय २० रुपैयाँ किलो पर्छ।’
भुँइमा ३ वटा माछा थिए। यो माछा भारतको आन्ध्र प्रदेशबाट ल्याइन्छ। एउटा काट्दै थिए। ‘एउटा पार्टीको अर्डर थियो। यसपछि पसलका सबै माछा सकिन्छ’, उनले प्रष्ट पार्न खोजे। पत्रकारको पहिचान खोल्ने बित्तिकै अन्सारीले एक साताअघिको स्टक माछा बेचेको बताए। उनको छिमेकी पसलमा एउटा मात्र प्रयास माछा थियो।
१० बजेर ३ मिनेटमा पशु क्वारेन्टाइन चेकपोस्ट पुग्दा कार्यालय प्रमुख रामसेवक त्रिपाठी माथिल्लो तलाको बार्दलीमा दाह्री काट्दै थिए। सुरुमा उनले डेढ सातादेखि माछा आयात पूरै बन्द भएको दाबी गरे। प्रयास माछाको फोटो देखाउनासाथ उनको बोली फेरियो, ‘वैध बाटोबाट माछा आयात भएकै छैन। अवैध माछा रोक्नु प¥यो भनेर प्रहरी र भन्सारलाई चिट्ठी पठाएका छौं।’
भारतीय माछा आयात गर्दा जाँच गर्ने सरकारी अड्डा पशु क्वारेन्टाइन चेकपोस्ट् कार्यालय र त्यहाँबाट दक्षिणमा मुस्किलले सय मिटर दूरीको जैसपुरस्थित माछाबजारका दृश्य र संवाद हुन् यी।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माछा, कुखुरालगायत पशुपन्छी आयातमा कडाइ गरेपछि भारतीय माछाको तस्करी बढेको छ। क्वारेन्टाइनले निर्यात गर्ने देशबाट जारी पशु स्वास्थ्य तथा स्यानिटरी प्रमाणपत्र, खरिद बिल र निर्यात गर्ने देशको कस्टमबाट जारी कागजात मागेपछि नेपालगन्जमा माछा तस्करी हुन थालेको हो।
क्वारेन्टाइनले २४ फागुनपछि नेपालगन्ज नाकाबाट माछा आयात नै नभएको दाबी गरेको छ। नेपालगन्ज भन्सार कार्यालय प्रमुख शान्तिराम निरौलाले पनि एक सातादेखि माछा आयातको रेकर्ड नभएको बताए। भारतबाट मात्र आयात हुने प्रयास, नैनी, रोहु, मंगुर माछा बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ। ठेलाठेलामा तारेका माछा (रोस्ट) बिक्री भइरहेको छ।
क्यारेन्टाइनका अधिकारी भने तस्करी रोक्न प्रहरी प्रशासन सक्रिय हुनुपर्ने बताउँछन्। २३ फागुनमा क्वारेन्टाइनले प्रहरी, सशस्त्र, भन्सार, आयातकर्तालाई माछा तस्करी रोक्न पत्राचार गरिसकेको छ।
बाँकेका प्रहरी प्रमुख अरुण पौडेल क्वारेन्टाइनको मौखिक जानकारीकै आधारमा पनि प्रहरी परिचालन गर्न सकिने बताउँछन्। ‘प्रहरी यूनिटलाई कडाइ गर्न लगाउँछु। क्वारेन्टाइनले प्रहरी मागे दिनरात खटाउन सकिन्छ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल भने माछा तस्करी कडाइपूर्वक रोक्न जोड दिँदै भन्छन्, ‘उपभोक्ताले पनि स्थानीय माछा नै उपभोग गर्नुप¥यो।’
कारवाही गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माछा पसल अनुगमन गरेर कारवाही गर्न निर्देशन दिएको थियो। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा.शीतलबाबु श्रेष्ठले मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले बजार अनुगमनमा माछा चेकजाँच गरी कारबाही गर्न पत्र आएको बताए।
श्रेष्ठकै नेतृत्वमा मंगलबार दिउँसो जिल्ला प्रशासन, प्रहरी र वाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन टोलीले जैसपुरमा प्रयास, रोहु र मंगुर जातका ७७ किलो माछा बरामद गरी नष्ट गरेको थियो। टोली आउने थाहा पाएपछि व्यापारी भागेका थिए। ‘माछा किनेको बिल नभएको र व्यवसायी सामान छाडेर भागेकाले बरामद गरी नष्ट गरियो’, उनले भने।