गहुँबारीमा तरकारी खेती

गहुँबारीमा तरकारी खेती

कालिकोट : खाँडाचक्र नगरपालिका–२ का स्थानीय किसानले गहुँबारीमा तरकारी खेती सुरु गरेका छन्। तरकारीबाट मनग्गे आम्दानी हुने भएपछि उनले गहुँ उखेलेर प्लास्टिक घरभित्र तरकारी खेती सुरु गरेका हुन्।

सिँचाइको समस्याले गहुँ खेती गर्न थालेका स्थानीय किसानलाई नगरपालिकाले प्लास्टिक घर अनुदान दिएपछि गहुँ उखेलेर प्लास्टिक घरभित्र पुनः तरकारी खेती गर्न थालेका हुन्। १५ वर्षदेखि तरकारी खेती गर्दै आएकी खाँडाचक्र नगरपालिका–२ निवासी पुल्ती बिष्टले आफूहरूले २५ जनाको कृषक समूह गठन गरी गहुँ बाली उखेलेर प्लास्टिक घरमा तरकारी खेतीको सुरु गरेको बताइन्।

‘पहिलेदेखि नै तरकारी खेती गर्दै आएका थियौं, तर सिँचाइ नहुँदा व्यावसायिक कृषक बन्न सकेका थिएनौं’, उनले भनिन्, ‘अहिले नगरपालिकाले प्लास्टिक घर सहयोग गरेपछि पुनः व्यावसायिक तरकारी खेतीमा फर्किएका हौं।’ नगरपालिकाले हाम्रो समूहमा तीनवटा प्लास्टिक घरका साथै पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण गरिदिएको छ।

कृषक समूहमै आबद्ध अर्की स्थानीय किसान अप्सरा बिष्टले सदरमुकामसँगै जोडिएको गाउँ भएकाले आफूहरूले तरकारी खेतीबाटै जीविका चलाउँदै आएको बताइन्। उनले भनिन्, ‘परिवारको खर्च चलाउने अरु कुनै स्रोत छैन, प्लास्टिक घरभित्र तरकारी खेती गर्दा राम्रै आम्दानी भइरहेको छ।’ उनीहरूले प्लास्टिक घरभित्र बेमौसमी काँक्रा, फर्सि, टमाटरलगायत तरकारी बाली लगाएका छन्। खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले नगरले कर्णाली राजमार्ग आसपासका किसानलाई समूहमा आबद्ध गरी तरकारी खेतीमा जोड दिएको बताए।

उनले भने, ‘राजमार्गसँग जोडिएका नगरपालिकाका विभिन्न वडामा गठन गरिएका १० वटा कृषक समूहलाई प्रतिसमूह तीनवटा पोलिहाउस र सिँचाइका लागि पानी जम्मा गर्ने ट्यांकीसहित अन्य सामग्री सहयोग गरेका छौं। किसानले अहिले प्लास्टिक घरभित्र उत्पादित तरकारीबाट मनग्गे आम्दानी गरिरहेका छन्।’ जिल्ला सदरमुकामसमेत रहेको मान्म बजारमा बाहिरबाट आउने तरकारीमा विस्थापित गराई स्थानीय किसानलाई तरकारीबालीबाट आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेको कृषि शाखा प्रमुख काफ्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.