सुदूरपश्चिमको रंगविहीन होली

सुदूरपश्चिमको रंगविहीन होली

विष्णुप्रसाद देवकोटा, महेन्द्रनगर, गीता कुँवर, अछाम ।

सामान्यतया दुईतीन दिनसम्म रंगीविरंगी रङ दल्ने, लोला हान्ने र अरू रमाइलो गरेर होली मनाइन्छ। तर, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका राना थारूहरू भने एक महिनासम्म होली मनाउने गर्छन्। राना समुदायको यो सबैभन्दा ठूलो पर्व हो।

राना समुदायले होली पर्व एक महिना अघिदेखि नै मनाउने चलन पुर्खाैंदेखि छ। पछिल्लो समयमा भने यो प्रचलन कम हँुदै गएको छ। ‘पुर्खाको पालादेखि नै हाम्रो समुदायमा फागुनको पहिलो पूर्णिमादेखि नै होली सुरु गरिन्थ्यो’, कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, वनकट्टटीका चेतराम रानाले भने, ‘हिजोआज छिटपुट रूपमा यो प्रचलन छ।’ उनले बूढापाका भएको घरमा बाहेक अन्यले एक महिनाअघि नै होली मनाउन छोडिसकेको बताए।

महिना दिनअघि मनाउने होली यो समुदायले रातिको समयमा मात्रै मनाउँछन्। टोलमा खाना खाइसकेपछि सबै जम्मा हुने र अनि मध्य रातसम्म ढोलक बजाएर थारू पोसाकमै होली खेलिन्छ। ‘नयाँ पुस्तालाई नाचगान सिकाई होलीबारे जानकारी दिन रातिको समयमा मात्रै खेलिन्थ्यो’, बेलौरी नगरपालिका–८, कलकत्ताका कलंकी रानाले भने। हिजोआज रातिको समयमा मनाउने प्रचलन निकै कम भइसकेको छ तर केही बूढापाकाले भने यसलाई निरन्तरता दिएका छन्। राना थारू समुदायले होलिका जन्मेको समय र दहन गरिसकेपछि मनाउने चलन रहँदै आएको हो।

फागुन पूर्णिमाको दिन होलिका दहन गरिसकेपछि पनि यो समुदायले करिब दुई सातासम्म होली पर्व मनाउने चलन छ। ‘फागुन पूर्णिमाको दिन होलिका दहन गरिसकेपछि हाम्रो समुदायले दिउँसोको समयमा होली पर्व मनाउने गर्छ’, भीमदत्त नगरपालिका–१४, वनकट्टीस्थित रानाथारू संग्रहालयका सचिवसमेत रहेका चेतरामले भने।

होलिका दहनपछि सात दिनसम्म धूमधामसाथ होली खेलिन्छ। उनले सो समयमा गाउँका मुखिया लगायतका भद्रभलाद्मीका घरमा गएर होली खेल्ने, नाचगान गर्ने र मीठामीठा परिकार खाने प्रचलन रहेको बताए।

महिला र पुरुष दुवैले आआफ्नो भेषभूषा र पोसाक लगाएर होली खेल्दै रमाइलो गर्ने गर्छन्। युवा पुस्ताले यसलाई निरन्तरता नदिँदा विस्तारै पुरानो रीतिरिवाज कम हँुदै गएको राना थारू समुदायका अगुवाहरू बताउँछन्। ‘होलीमा विशेष पूजाआजा र देवताको पूजाआजा गरिन्छ’, उनले भने।

कैलाली र कञ्चनपुरमा करिब तीन लाख राना थारू बसोबास गर्दै आएका छन्। कञ्चनपुरको सबैभन्दा पुरानो बस्तीका रूपमा हालको लालझाडी गाउँपालिका, बेलौरी नगरपालिकालाई लिइन्छ।

साविकको देखतभुली, कन्ज, रैकवारविचवा, बाइसेविचवा, बेलौरी, रामपुर विलासीपुर, गुलरिया, सुडा, सिसैया, बागफाँटा, बनकट्टी लगायतका क्षेत्रमा अहिले राना थारू समुदायको बसोबास छ।

रङबिनाको अछामी होली

सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये अछामको होली रङबिनाको हुन्छ। गडीसहितको सेतो पहिरन लगाएर, निधारमा मात्रै रातो टीका लगाई दिनभरि होली खेल्ने गरिन्छ।

अछामीहरूले परापूर्व कालदेखि नै होली मनाउँदै आएका छन्। होलीलाई यहाँको स्थानीय भाषामा ‘होरी’ भन्ने चलन छ। दसैंतिहारमा समेत घर नफर्किने यहाँका बासिन्दा यति बेला घर फर्किएर होलीमा सहभागी हुन्छन्। साँफेबगर नगरपालिका–३ का रतन घर्ती होलीकै लागि भारतबाट गाउँ आएका छन्।

उनले भने, ‘हामीलाई दसँैतिहार जस्ता चाडपर्वले कुनै अर्थ राख्दैन। होलीमा परिवारका सबैसँग भेट हुन्छ। दाजुभाइसँग होली खेल्दा भारतमा नोकरी गर्दा पाएका सबै दुःख बिर्सिने गर्छौं।’

यस क्षेत्रका बूढापाकाका अनुसार अछाममा करिब तीन सय वर्ष अघिदेखि होली खेल्ने चलन प्रारम्भ भएको हो। करिब ४० वर्षपहिले स्थानीय जनजिब्रोमा बोलिने भाषामा गीत रचना गरी स्थानीयकरण गरिएको थियो। यहाँ होरी खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूँमा एउटा सेतो च्यादरजस्तो पहिरनुपर्छ। टाउकोमा पगरी बाँध्नुपर्छ।

त्यसैगरी आआफ्ना दिदीबहिनी, श्रीमती, आमाहरूले उनेर ल्याएका माला पहिर्‍याइदिन्छन्। होली खेल खेल्दै गर्दा बीचबाट एकजनाले लयात्मक देउडा गाउने गर्छन्। त्यही गीतलाई खेलका सहभागीले गाउने गर्छन्।

होली खेल प्रारम्भ गर्नुलाई ‘पैट्याउनु’ भनिन्छ। हरेक वर्ष होरीमा देउडा भन्दै आएका प्रभा धम्कोट उमाविका प्रधानाध्यापक जगदीश कुँवरले लामो समयदेखि भेटघाट हुन नपाएका दाजुभाइ एकै ठाउँमा भेला भएर भलाकुसारी गरी होरी खेल्ने गरिएको बताए। ‘अछामका लागि होली निकै महŒवपूर्ण पर्व हो’, उनले भने

‘पुरुषजति रोजगारका लागि बिदेसिएका छन्, गाउँघरमा बूढापाका मात्र छन्। अबका युवाले आफ्नो लोकसंस्कृति जगेर्ना गर्न महŒवपूर्ण भूमिका खेल्नुपर्छ’, प्रधानाध्यापक कुँवरले भने।

होलीमा गाइने देउडा रामायणबाट सुरु हुन्छ। यो खेल नेपालको चार धाम मध्येको एक धाम वैद्यनाथ धाममा महाशिवरात्रिको मेलाको भोलिपल्ट बिहान मन्दिरको प्रांगणमा देउडा खेली शुभारम्भ गर्ने गरिन्छ। गाउँमा महाशिवरात्रि पछिको अष्टमीदेखि एकादशी तिथिको कुनै एक दिनमा आआफ्नो पट्कानीमा होली खेल सुरु गर्ने सल्लाहअनुसार खलिफाले त्यो दिनबाट बेलुका होरी खेल्ने प्रांगणमा बाजा ‘ढोल’ बजाउन थाल्छ।

ढोल बज्न थालेपछि होली खेलिने र दर्शकहरू त्यहाँ भेला हुने गर्छन्। गोलो घेरा बनाई होरी खेलिन्छ। अछामका बूढापाका होली खेलको उद्गम भारतको कुमाउ गढवाल भएको बताउँछने। विसं १७५० को दशकमा सोमवंशी राजा भान शाहले आफ्नी जेठी महारानीले आफ्नो माइती कुमाउ गढवालबाट राजाको तालमा होली देउडासाथ खेलाउने जिताउरे दमाई र होलीका गीतको वही (होली गीतसंग्रह) झिकाई आफ्नो शीतकालीन दरबार कालीमाटीगढी नजिकै रहेको प्रख्यात वैद्यनाथ मन्दिरको पूजाअर्चना गरेपछि अछाममा यो पर्वको सुरु भएको मानिन्छ।

बैद्यनाथको मन्दिर र महाराज भान शाहको दरबारको पट्कानीबाट सुरु भई गाउँगाउँका पट्कानीमा पुगी अछामी संस्कृतिको अभिन्न अंग हुन गएको जानकारहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.