बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद
रुकुम पूर्व : साढे तीन वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ। अदालतले बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका–५, का ३० वर्षीय भरत गौतम (मदन)लाई २५ वर्ष कैद फैसला गरेको हो।
जिल्ला न्यायधीश दुर्गाबहादुर भुषालको इजालसले १९ वर्ष कसुर वापत र ६ वर्ष थप गरी २५ वर्ष कैद फैसला गरेको अदलातका श्रेष्तेदार शुशिलकुमार यादवले बताए। बालिका बलत्कार गरेको कसुरमा १९ र दोहोर्याएर अपराध गरेका कारण थप ६ वर्ष गरी २५ वर्ष कैद हुने गरी फैसला भएको यादवले बताए। मंगलबारको इजलासले पीडित बालिकालाई क्षतीपूर्ति वापत एक लाख रुपैयाँ पनि प्रतिवादी गौतमले तिर्नुपर्ने गरी फैसला गरेको छ।
गौतमले यस अघि पनि सोही प्रकृतिको मुद्दामा दोषी करार भएर साढे ४ वर्षको कैद भुक्तान गरेका थिए। गौतम गत माघ २१ गते बालिकालाई जवरजस्ती गर्ने क्रममा रंगेहात पक्राउ परेका थिए। घरमा कोही नभएको मौकामा खेलिरहेकी बालिकालाई जवरजस्ती गर्ने क्रममा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए।
उनी कैद भुक्तान गरी कारागारबाट रिहा भएको एक महिनामै बालिका बलात्कारको अरोपमा पुनः पक्राउ परेका हुन्। बालिका बलात्कारर गरेको माघ २१ गते नै पक्राउ परेका गौतमलाई अदालतले गत फागुन ५ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो।