सबस्टेशन नहुँदा विद्युत सेवा अनियमित

सबस्टेशन नहुँदा विद्युत सेवा अनियमित

रुकुम पश्चिम : नेपाल विद्युत प्राधिकरणको केन्द्रीय विद्युत प्रशारण लाइन अनियमित हुँदा यतिबेला रुकुम पश्चिमका उपभोक्ता आजित बनेका छन्। क्षणभरमै झ्याप्पै जाने र हप्ता दिनपछि मात्रै आउने यहाँको विद्युत सेवाका कारण सर्वसाधारणको नियमित कामकाजमा समेत प्रत्यक्ष बाधा पुगेको छ।

रुकुममा सबस्टेशन नभएर नै विद्युत सेवा अनियमित भएको बताउँछन् नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिमका निमित्त प्रमुख रविन्द्रकुमार महथा। उनी भन्छन्, 'जिल्लाको मुसीकोट र चौरजहारी जनगरपालिका तथा बाफिकोट र त्रिवेणी गाउँपालिकामा गरेर कुल ६ हजार ७ सय ग्राहक रहेको प्राधिकरणको विद्युत सेवा अनियमित हुनुको मुल कारण रुकुममा सबस्टेशन नहुनु हो।'  

२०७३ साल कार्तिकदेखि केन्द्रीय प्रशारण लाइनसँग जोडिएको रुकुमको विद्युत सेवा आरम्भदेखि नै विद्युतको पुरा पावर नआउने र आए पनि यो नियमित नहुने समस्या भइरहेको छ।

प्राधिकरणको तुलसिपुरमा रहेको सबस्टेशनबाट सल्यान हुँदै रुकुमसम्म करिव ८० किलोमिटर लम्बाइमा रहेको विद्युत प्रशारण लाइनको दुरी लामो भएकै कारण विद्युत अनियमित भैरहेको प्राधिकरणले बताएको छ। सल्यानको श्रीनगरमा ३३ के.भी.को सबस्टेशन निर्माण भइ सञ्चालनमा आउँदा अब उक्त दुरी घटेर ४० किलोमिटर भएको छ। श्रीनगरबाट रुकुम पश्चिमको खलंगासम्म आउने यो दुरी पनि लामो भएको निमित्त प्रमुख महथा बताउँछन्। 

'सब–स्टेशनबाट वितरण हुने भनेको ११ के.भी.को लाइन हो, त्यसका लागि बढिमा २० किलोमिटरको दुरी हुँदा भोल्टेज ड्रक १० प्रतिशत हुन्छ', उनी भन्छन्, 'तर रुकुम सदरमुकामसम्म आउने दुरी त्यसको दुई गुना बढी हुँखा भोल्टेज ड्रक घट्छ र ११ केभीको लाइन घटेर ६–७ केभीमा पुग्छ। प्रिन्टर, फ्रिज, हिटर जस्ता विभिन्न विद्युतीय सामाग्री चलाउन सम्भव हुँदैन।'  

सब–स्टेशनबाट दुरी लामो हुँदा हुने अर्को समस्या विद्युत अवरुद्ध हुँदा बिग्रिएको ठाउँ पत्ता लगाउन पनि समस्या हुने उनले बताए। 

विद्युतलाई नियमित गराउन समय लाग्ने गरेको निमित्त प्रमुख महथा बताउँछन्। ‘हामी गाह्रकलाई सकेसम्म नियमित विद्युत दिने प्रयासमा हुन्छौँ ,’ उनी भन्छन्, ‘तर दुरी लामो हुँदा कहाँ के समस्या आएको हो भनेर पत्ता लगाउन गाह्रो हुन्छ।’ यी सबै समस्याको दिगो समाधान भनेको रुकुम पश्चिममा ३३ के.भी.को सबस्टेशन निर्माण गर्नु नै भएको महथाको भनाइ छ।

पहाडको अपठ्यारो भौगोलिक बनोटका कारण पनि ठाउँ–ठाउँमा रहेको रुखहरु विजुलीको तारमा परेर तार चुडिने र सडक भत्किँदा पोलहरु ढल्ने समस्या आउने गरेको छ। साथै बिभिन्न ठाउँका सर्वसाधारणले लापरवाहीपुर्ण तरिकाले विद्युतीय सामाग्रीमा क्षति पुर्‍याउने गरेका कारण रुकुमको विद्युत सेवा प्रभावकारी हुन नसकेको प्राधिकरणले बताएको छ।

जिल्लामा ३३ केभीको सबस्टेशन निर्माणका लागि मुसीकोट ५ धैरेनी चौरमा जग्गा खरिदको काम सम्पन्न भैसकेको छ। अब यसको ठेक्का पक्रियामा गएर चाडोभन्दा चाडो काम सुरु गर्नु आवश्यक छ। अहिलेकै अवस्थामा जिल्लाको विद्युत प्रशारणको समस्या हल गर्नका लागि यो नै सबैभन्दा उत्तम विकल्प हो। 

यस बाहेक सल्यान र रुकुमका लागि तुलसिपुर सबस्टेशनबाट केन्द्रीय लाइन आए पनि त्यहाँ रहेको सबस्टेशनले पनि शाखा लाइन जस्तो व्यवहार गरेर ओभर लोड हुँदा सल्यान–रुकुमकै लाइनलाई पहिला निभाउने गरेका कारण पहाडी क्षेत्रमा आउने लाइनका लागि तुलसिपुरको सबस्टेशनको पनि विकल्प आवश्यक रहेको निमित्त प्रमुख महथाले बताए। 

साथै सल्यानमा कही समस्या हुँदा पनि रुकुमसम्मको लाइन अवरुद्ध हुने गरेको छ। यी सबै कारणले गर्दा रुकुमको विद्युत सेवा यहाँका उपभोक्तले राम्रोसंग उपभोग गर्न पाएका छैनन्। 

 


 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.