छाउगोठ नहटाए सेवा रोक्का
सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकामा असारमा १५ वर्षीया किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार भयो। घरदेखि टाढाको छाउगोठमा सुतेकी उनी गाउँकै युवाबाट बलात्कृत भइन्। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा छाउगोठमा सुतेकी तुलसी शाहीको सर्पले टोक्दा ज्यान गयो। यो डेढ वर्ष अघिको घटना हो।
सुर्खेतको चौकुने गाउँपालिकास्थित गुटुमा निर्मला बर्तौलालाई महिनावारी भएका बेला घरमा सुताउँदा देउता रिसाउने भन्दै परिवारले छाउगोठमा सुताए। मध्यरातमा उनी छाउगोठबाट भुइँमा खसिन्, कसैलाई पनि पत्तो भएन। छाउगोठबाट खसेर बेहोस निर्मलाको उपचार गर्दागर्दै ज्यान गयो। तीन वर्षअघिको यो घटनामा उनलाई परिवार र आफन्तले बचाउन सकेनन्।
महिनावारी भएको बेलामा घरभित्र सुरक्षित रूपमा सुत्न नपाउँदा घटेका यी प्रतिनिधि घटना हुन्। महिनावारी हुँदा छाउगोठमा सुत्नुपर्ने बाध्यताका कारण महिला तथा किशोरीले ज्यान गुमाउनुपर्ने र बलात्कृत हुनुपर्ने घटना दोहोरिन थालेपछि छाउपडीको कुप्रथाविरुद्ध स्थानीय सरकार कठोर बन्न थालेका छन्। गाउँमा अहिले पनि छाउगोठ रहेको र यसअघि भत्काइएका छाउगोठसमेत पुनर्निर्माण हुन थालेपछि यहाँका स्थानीय तहले आफूहरूले प्रदान गर्ने सेवासुविधामाथि नै अंकुश लगाउने तयारी गरेका हुन्।
अब घरमा छाउगोठ भएका परिवारलाई स्थानीय तहले सेवा रोक्का गर्ने भएका हुन्। गाउँमा रहेका छाउगोठ हटाउन र महिला तथा किशोरीको ज्यान जोगाउन स्थानीय तहले यस्तो उपाय अपनाउन लागेका हुन्। सेवा नै रोक्का भएमा छाउगोठ भत्काउन दबाब पुग्ने स्थानीय तहको दाबी छ।
पश्चिम सुर्खेतका बराहताल र चौकुने गाउँपालिकासँगै पञ्चपुरी नगरपालिकाका अधिकांश गाउँ छाउगोठमुक्त घोषणा गरिएका थिए। तर पहिले छाउगोठ भत्काउने अभियानमा लागेका अगुवा महिला र किशोरी नै अहिले छाउगोठमा सुत्न थालेका छन्। महिला तथा किशोरी असुक्षित भएपछि पञ्चपुरी नगरपालिकाले नगर क्षेत्रमा रहेका छाउगोठ हटाउन पालिकाले प्रदान गर्ने सेवामा अंकुश लगाउने तयारी गरेको हो। ‘नगरमा अहिले पनि छाउगोठ कायमै छन्, हिजो भत्काइएका गोठ पनि पुनर्निर्माण भए’, मेयर उपेन्द्रबहादुर थापाले भने, ‘जुन घरमा छाउगोठ छ, त्यो परिवारलाई नगरपालिकाबाट प्रवाह हुने सेवासुविधा रोक्का गर्छौं। छाउगोठ नभत्काउने परिवारले अब नगरको कुनै पनि सेवा पाउनेछैनन्, छाउगोठ हटाउन हामी निर्मम बन्दै छौं।’
यहाँ अधिकांश जनप्रतिनिधिको घरमा समेत छाउगोठ छन्। यसकारण पनि अब छाउपडीको कुप्रथाविरुद्ध कठोर बन्ने थापाले बताए। ‘अब घरमा छाउगोठ भएका जनप्रतिनिधिको सेवामा पनि अंकुश लगाउनेछौं, धामी र ज्योतिषीलाई पनि प्रशिक्षण दिने तयारी भइरहेको छ’, उनले भने, ‘धार्मिक अन्धविश्वासले छाउगोठ भत्काउन समस्या भएको छ।’
जिल्लाको चौकुने गाउँपालिकामा पनि महिला छाउगोठबाट बाहिर आउन सकेका छैनन्। महिलालाई छाउगोठबाट मुक्त गर्न यो गाउँपालिकाले पनि विशेष योजना अघि सारेको छ। ‘हामी प्रोत्साहन र दण्डको नीति लिँदै छौं, बाध्यकारी नीति नबनाउँदासम्म छाउगोठ भत्किने अवस्था देखिएन’, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘पहिलो चरणमा चेतनामूलक अभियान सञ्चालन गर्दै छौं, गाउँपालिकाले दिने सेवासुविधाबाट वञ्चित गरेर भए पनि छाउगोठ भत्काउन बाध्य पार्नेछौं।’
यहाँ शौचालय नबनेका घरमा पनि छाउगोठ बनेको महिला अधिकारकर्मी टीका रानाले बताइन्। यसबाट महिला र किशोरी पीडित छन्। जिल्लाको वराहताल गाउँपालिकाले पनि छाउगोठ हटाउने अभियानलाई प्राथमिकता दिएको छ। ‘छाउगोठ भत्काउन ठूलो शक्ति आवश्यक छ, महिलालाई घरभित्रै बस्ने अवस्था ल्याउन हामी लागिपरेका छौं’, गाउँपालिकाकी उपाध्यक्ष शोभा शर्माले भनिन्, ‘अबको परिषद् र सभाबाट थप निर्णय गर्दै छौं, यो कुप्रथाको जालोबाट महिलालाई मुक्त गरेरै छाड्नेछौं।’ कर्णालीका अधिकांश स्थानीय तहले छाउगोठबाट महिलालाई मुक्त गर्न प्रोत्साहन र दण्डको नीति अवलम्बन गर्न थालेका हुन्। कर्णालीका अधिकांश जिल्लामा महिला र किशोरीलाई महिनावारीको समयमा छाउगोठमा सुताइन्छ।