थकाली समुदाय तोरन ल्ह मनाउँदै
बेनी : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने नेपालको अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह पर्वको रौनक छाएको छ। थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउँछ। थकाली समुदायको जनसंख्या करिब दस हजार रहेको अनुमान छ।
तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्किएका छन्। तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गर्छन्। फागू पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाइने थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताए। ‘तीन दिन सबैरे उठेर चोखोनिष्ठ भएर पितृ सम्झिएर फूलप्रसाद चढाउनुपर्छ’, शेरचनले भने, ‘आफन्तलाई बोलाएर मिठा परिकार खुवाउने र आर्चरी खेल्ने चलन छ।’
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरबाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ।
परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा मंगलबारदेखि तारा खेल सुरु भएको छ। कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संख्यात्मक हिसाबले न्युन भए पनि सांस्कृतिक रुपमा थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए।
तारा खेललाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन्। धार्मिक ग्रन्थहरुमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखिनै भएको अनुमान गरिन्छ।
कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ। आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताए।एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ। पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ।