भिस्वा नाका सुनसान
वीरगन्ज : भारतसँगको व्यापारिक कारोबारका लागि वीरगन्ज पछिको पर्साको दोश्रो मुख्य नाका भिस्वा बजार केही वर्षयता सुनसान छ। पर्साको छिपहरमाई गाउँपालिका—५ मा पर्ने भिस्वा बजारमा व्यापारिक कारोबार ह्वात्तै घटेको छ।
सदरमुकाम वीरगन्जबाट २८ किलोमिटर पश्चिम तथा भारतको सीमावर्ती बजार सिक्टासँगैको भिस्वा बजार माओवादी सशस्त्र द्वन्द्व भन्दा पहिले भारतसँगको व्यापारिक कारोबारका लागि वीरगन्ज पछिको दोश्रो नाकाका रूपमा परिचित थियो। सीमावर्ती भारतको सिक्टा, बेतिया, नरकटीयागञ्ज, हरनाटाड, रामनगर, बगाहालगायतका खुद्रा व्यापारी र उपभोक्ताको किनमेलको मुख्य बजार नै भिस्वा थियो।
भिस्वा बजारमा रेडिमेड कपडा, चप्पल जुत्ता, इलाइची, डाल्डा ध्यू, साबुन, इलेक्ट्रोनिकलगायतका नेपाली र चिनियाँ सामान खरिद गर्न सीमावर्ती भारतीय बजार र गाउँबाट भारतीय खुद्रा व्यपारी र उपभोक्ताको दिनभर नै घुइचो लाग्थ्यो। स्थानीय व्यपारी मन्सी सहा भन्छन्, ‘त्यस बेला भिस्वा बजारमा नेपाली र चिनियाँ रेडिमेड कपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स गरी झण्डै सयको हाराहारीमा थोक पसल थिए। यस्तै खुद्रा पसल पनि डेढ सयको हाराहारीमा थियो। माओवादी सशस्त्र द्वन्द्वका बेला असुरक्षा बढेपछि भारतीय व्यापारी र उपभोक्ता आउन छाडेका कारण भिस्वा सुनसान बनेको हो।’
भारतीय व्यापारी र उपभोक्ता आउन छाडेपछि चहल पहल घट्दै गएर कारोबार कम भएका कारण भिस्वा बजारका थोक व्यापारी पनि पलायन भएका छन्। व्यापार चल्न छाडेपछि खुद्रा पसलको संख्यामा पनि कमी आएको छ जसले गर्दा भिस्वा बजार केही वर्षयता सुनसान बनेको हो।
व्यापारिक कारोबारले गुल्जार भिस्वा बजारको व्यापार घट्दै गएपछि व्यापारी पनि पलायन हँुदै गएको भिस्वाका स्थानीय विपिन पटेलले बताए। ७० वर्षको इतिहास बोकेको भिस्वा बजारले माओवादी द्वन्द्वको मारमा गुमाएको आर्थिक साख अहिलेसम्म फिर्ता पाउन नसकेको स्थानीय कपडा पसले हरिशंकर साहले बताए। ‘कुनै बेला यही बजारमा भारतीय खुद्रा व्यापारी र ग्राहकको बिहानदेखि साँझसम्म खचाखच भिड हुन्थ्यो। त्यस बेला भिस्वा बजार गुल्जार थियो’, उनले भने, ‘तर माओवादी द्वन्द्व चर्किए पछि असुरक्षाका कारण भारतीय आउनै छाडे।’
स्थानीय कपडा व्यापारी मन्सी साहका अनसार द्वन्द्वपूर्व भिस्वा बजारका पसलमा दैनिक ३० देखि ५० लाख भारुसम्मको कारोबार हुन्थ्यो। तर अहिले दैनिक ५० हजार भारुको पनि व्यापार गर्न धौ धौ रहेको उनको भनाइ छ।
माओवादी द्वन्द्व सकिएपछि रक्सौल–नरकटीयागञ्ज छोटी लाइनको रेल सेवा विस्तारको काम चलेका कारण त्यो रूटमा रेलसेवा पाँच वर्षसम्म बन्द रह्यो, कपडा व्यापारी साहले भने, ‘त्यसले पनि भारतीय व्यपारी र ग्राहक भिस्वा बजारमा आउन सकेनन्। त्यसको मारमा भिस्वा बजार पर्यो।’
अहिले रक्सौल नरकटीयागञ्ज रेल सेवा विस्तार भइ सुरु भएपनि भारतीय ग्राहक र व्यापारी किनमेलका लागि रक्सौलकै बजारमा जाने गरेको साहले बताए। २५/३० वर्ष पहिले पर्साका पोखरिया, बहुदरामाई र पर्सागढी सामान्य चोकमा मात्र समिति थिए। त्यतिबेला छोटी भन्सार, वित्तिय संस्था, माध्यमिक विद्यालय, अस्पताललगायत भौतिक पूर्वाधारले सम्पन्न भिस्वा बजार भने पर्साको ग्रामीण भेगका लागि पनि मुख्य व्यापारिक केन्द्रका रूपमा स्थापित थियो। तर, अहिले यो बजार बन्द हुने अवस्थामा पुगेको छ। ‘बजार चलेका बेला दैनिक मेरो पसलमा मात्रै ५० हजारदेखि १ लाख सम्मको व्यापार हुन्थ्यो’, व्यापारी विनोद ठाकुरले भने, ‘अहिले त पाँच हजार पुर्याउन पनि मुस्किल छ।’
देशमा तीन तहको सरकार गठन भए पनि भिस्वा बजारको समृद्घि र विकासमा कसैको चासो नगएको स्थानीय अगुवा बलिशटर सिंहको गुनासो छ।
संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि सरकारले शहरको संम्भावना भएका विभिन्न ठाउँलाई नगरपालिका घोषणा गरी विकासका लागि अर्बौको बजेट पठाइरहेको छ’, उनले भने, ‘तर ७० वर्षको इतिहास बोकेको भिस्वा बजारलाई नगरपालिका बनाउन न दलले चासो देखाए न सरकारले नै।’ छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले भिस्वा बजारको पुरानो साख फर्काउन तथा आर्थिक–व्यापारिक केन्द्रको रूपमा विकास गर्न आफूले केन्द्रमा पहल गरिरहेको बताए।