चीनले बीआरआई र ह्वावेबारे स्पष्ट पार्ने
एएफपी /पइचिङ : वेल्ट एन्ड रोड इनिसिएटिभ र चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरु हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन्।
सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरु गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँचदिने भ्रमण फ्रान्समा लगेर टुंग्याउने कार्यक्रम रहेको छ। यूरोपियन यूनियनले (ईयू) १० बुँदे योजना सार्वजनिक गर्दै चीनसँगको सम्बन्धमा थप विश्वासको वातावरण बनाउँदै अघि बढ्ने प्रतिबद्धता आएको एक सातापछि हुन लागेकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ईयूले आफ्नो योजनामा चीनलाई उक्त समूहको एक ‘प्रतिस्पर्धी’का साथसाथै एउटा ठूलो व्यापारिक साझेदार मुलुकका रूपमा अथ्र्याएको छ।
सीले आफ्नो भ्रमणका क्रममा चीनले इटालीसँग बेल्ट एण्ड रोड (बीआरआई) कार्यक्रम आरम्भका लागि एक ट्रिलियन डलर बराबरको गैरबन्धनकारी सहमति गर्ने अपेक्षा गरिएको छ।
चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गसम्बन्धी आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकमा बीआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मूलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेको छ।
यो महत्वाकांक्षी अभियानमा अन्तर्राष्ट्रिय मुद्राकोषले विकसित अर्थतन्त्र भएका मुलुकहरूमध्ये इटाली सहभागी हुने कुराले उसका सहयोगी पश्चिमी मुलुकहरू क्यानडा, बेलायत, अमेरिका, जापान, जर्मनी, फ्रान्सले भने आशंका व्यक्त गरेका छन्।
ईयू सदस्य राष्ट्रहरू ग्रीस र पोल्यान्ड पनि बीआरआई आयोजनामा जोडिएका छन् तर ईयू समूहका अन्य राष्ट्र पर्ख र हेरको अवस्थामा रहेका छन्। उक्त आयोजनाका कारण आफ्नो क्षेत्रमा चिनियाँ सरकारको बढ्दो राजनीतिक तथा आर्थिक प्रभाव पर्नसक्ने भय उनीहरूले पालेका छन्।
ह्वाइट हाउसका अधिकारी गारेत माक्युसले गत साता ट्विट गर्दै इटालीले चीनको महत्वाकांक्षी पूर्वाधार आयोजनालाई अनुमोदन गर्न यससँग जोडिन ‘आवश्यक नरहेको’ उल्लेख गरेका थिए। फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँले यूरोपेली मुलुकहरूले चीनसँग ‘समन्वयकारी दृष्टिकोण’ राख्नुपर्ने र ‘समानताको भाव तथा पारस्परिक आदानप्रदान’ का लागि सहकार्य गर्नुपर्ने बताएका छन्।
इटालीका प्रधानमन्त्री जिसेफे कोन्टीले जी सेभेन राष्ट्रका अन्य नेताले गरेको आशंका अनावश्यक भन्दै आयोजनामा जोडिँदा कसैलाई पनि घाटा नहुने दाबी गर्दै आएका छन्। उनले बिहीबार चिनियाँ राष्ट्रपतिलाई स्वागत तथा भेटवार्ता गर्नेछन्। ‘हाम्रा लागि चीनसँग मिलेर बीआरआईमा जोडिनु शुद्ध आर्थिक र व्यवसायिक प्रकृतिको छनोट हो। यो हाम्रा एटलान्टिक गठबन्धन तथा ईयू सदस्यसँगको सम्बन्धजस्तै पूर्णरूपमा उपयुक्त छ’, कोन्टेले कोरेइरे देल्ला सेरा पत्रिकासँगको अन्तवार्तामा भनेका छन्।
इटालीयाली सञ्चारमाध्यममा प्रकाशित गैरबन्धनकारी सम्झौतापत्रको प्रस्तावनाबाट चीन र इटालीबीच आपूर्ति, पूर्वाधार लगानी, आर्थिक तथा वातावरणीय क्षेत्रमा समन्वय गर्न चीन र इटाली सहमत भएका छन्।
‘चीनले ट्रिएस्टे र जेनोआजस्ता इटालीका बन्दगाहमा लगानी गर्न चाहेको छ, जसका कारण यूरोपका बजारका लागि चिनियाँ पहुँचलाई सहज बनाउनेछ’, मिलान पोलिटेक्निक व्यवसायिक विद्यालयका चीन मामिला विज्ञले भने, ‘कुनै पनि सम्झौताले ‘बन्दरगाह इटालीको नै रहने’ कुराको प्रत्याभूत गर्नुपर्छ।’ ग्रीक बन्दगाह पाइरेअसको जस्तो नमूना इटालीलाई मान्य नहुने उनको भनाइ थियो। पाइरेअस बन्दरगाहलाई चिनियाँ विशाल कम्पनी कोस्कोले सन् २०१६ मा आफ्नो प्रभावमा लिएको थियो।
चीनको सञ्चार विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्राध्यापक सु थेइविङले भने, ‘अमेरिकाको दबावका बावजुद इटालीले समन्वयकारी धारणाको अवलम्बन गरेको छ।’
अमेरिकाले यूरोपेली मुलुकलाई जासुसीका लागि ‘ब्याकडुअर’ का रूपमा ह्वावेको फाइभ–जी नेटवर्क चीन सरकारले पठाएको चेतावनी दिँदै आगामी पुस्ताको उक्त नेटवर्कको प्रयोग नगर्न भनिरहेका बेला राष्ट्रपति सीको भ्रमण भएको हो। चीनका उच्च कूटनीतिज्ञ वाङ यीले ब्रसेल्समा भएको ईयूका विदेशमन्त्रीहरूसँगको भेटमा ह्वावेमाथि ‘असाधारण र अनैतिक’ आक्रमण भएकोप्रति दुःख व्यक्त गरे।
अमेरिका र अस्ट्रेलियाले ह्वावेको नेटवर्कमाथि संशय व्यक्त गर्दै उसको फाइभ–जी नेटवर्क प्रयोग नगर्ने बताइसकेका छन् भने यूरोपेली मुलकहरूले अझै यसबारे ढोका बन्द गरिसकेका छैनन्। सीको भ्रमणले उनीहरूको आशंका निवारण गर्ने आशा चिनियाँ अधिकारीको छ।
इटालीको गठबन्धन सरकारमा संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टका प्रमुखले ह्वावेलाई परीक्षण गर्न इच्छुक देखिएपछि अति–दक्षिणपन्थी समूहका उपप्रधानमन्त्रीले भने देशको सुरक्षा खतरालाई लिएर विशेष सतर्क हुनुपर्ने मत व्यक्त गर्दै आएका छन्।
सीले फ्रान्समा माक्रोँलाई भेटी फोर–जी सेवामा ह्वावे कम्पनीको सामान प्रयोग गरेका दुई टेलिकम सञ्चालकलाई फाइभ–जी सेवाको परीक्षणका लागि पहल हुने विश्वास गरिएको छ। हुनत फ्रान्स सरकारले ह्वावेको सेवा लिँदा सुरक्षा खतरा हुने भन्दै तत्काल ह्वावेको फाइभ–जी सेवा नलिन कम्पनीहरूलाई आग्रह गरेको छ। यद्यपि फ्रान्सले सेवा नलिने निर्णय भने गरिसकेको छैन।
यूरोप भ्रमणका लागि सीको दोस्रो गन्तव्य मोनाकोले भने, ‘फाइभ–जी प्रयोगका लागि यस पहिले नै सम्झौता गरिसकेको छ। ह्वावेको ‘फाइभ–जी नेशन’ कार्यक्रमले आफूजस्ता गरिब मुलुकका लागि ठूलो सहयोग हुनेछ।’। सीले क्यासिनो तथा ग्रान्ड प्रिक्स मोटर प्रतिस्पर्धाका लागि ख्यातिप्राप्त स्वतन्त्र राज्य मोनाकोका राजकुमार अल्बर्ट द्वितीयसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भूमध्यसागर तथा ब्लाक सी क्षेत्रमा चीनको बीआरआई आयोजनाकोे असाधारण गन्तव्यका रूपमा विस्तार गर्न सकिने सम्भावना रहेको पेरिसस्थित इन्स्टिच्युट मोन्टाग्निका एशियाका लागि सल्लाहकार फ्रान्कोँ गोडमेन्टले भने।
चीन मोनाको सरकारको पर्यटकीय गन्तव्य भएकाले यहाँको अर्थतन्त्र मजबुत रहेको छ। चीनले सम्बन्ध बिस्तारका लागि सानो देशलाई पनि उत्तिकै महत्व दिने गर्छ।