आठौं राष्ट्रिय खेलकुद : तेक्वान्दो खेलाडी छानिए
काठमाडौं : प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट तेक्वान्दो खेलाडी छनोट भएका छन् । ग्योरोगीका आठ पुरुष र आठ महिला गरी १६ खेलाडी छनोट भएका हुन् । पुम्सेमा भने तीन पुरुष र तीन महिलासहित ६ खेलाडी छानिएका छन् ।
ग्योरोगीको पुरुषतर्फ पर्साबाट ५४ केजीमा सोयब अख्तर र ६३ केजीमा जैकी यादव, बाराबाट ५८ केजीमा वर्षात लामा, ६८ केजीमा दिनेश मण्डल, ८० केजीमा पवनकुमार श्रेष्ठ, ८७ केजीमा अमितकुमार सिंह र ८७ केजीमाथि शंकर यादव तथा ७४ केजीमाथि रौतहतका रमेन्द्र साह छन् ।
सो स्पर्धाको महिलातर्फ बाराबाट ४६ केजीमा मनीषा वाइबा, ६७ केजीमा लीला श्रेष्ठ, ७३ केजीमा अस्मिता रिजाल र ७३ केजीमाथि पार्वती बस्नेत, ४९ केजीमा पर्साकी अमृता तामाङ तथा सर्लाहीबाट ५३ केजीमा अप्सरा पौडेल, ५७ केजीमा मनीषा मगर र ६२ केजीमा सलिना श्रेष्ठ छन् ।
पुरुष पुम्सेमा सिरहाका संगम लामा, रौतहटका सागर थिङ र बाराका प्रवीण परियार छन् । यसै स्पर्धाको महिलामा बाराका आयुषा खातुन तथा बन्दना कुमर र सर्लाहीकी पुनम देवकोटा छनोट भएका छन् ।
पौडीको छनोट पूरा
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने पौडी खेलाडीको टुंगो लागेको छ । १२ पुरुष र आठ महिला गरी २० खेलाडी छनोट भएको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिएका छन् ।
पुरुषमा काठमाडौंका निर्भय थापा, जयन्तप्रकाश गुरुङ, राहुल दर्शन, अदिकान्सबहादुर श्रेष्ठ र स्पन्दन शाक्य, ललितपुरका सेरेन सिंह, मोहित शाक्य, इर्भिन श्रेष्ठ, संरक्षण थापा र विवेक महर्जन, दोलखाका रितेश खड्का तथा नुवाकोटका मनोज बखती छनोट भएका छन् ।
महिलामा काठमाडौंका लुमना शाक्य, राभ्या श्रेष्ठ, अनु सियाना पन्त, शिलादेवी गुरुङ र आयुक्ति थापा तथा ललितपुरका रोसा न्यौपाने, शिक्षा श्रेष्ठ र जरिया महर्जन छानिएका छन् ।