स्वयंसेविकाको कृषि कर्म

स्वयंसेविकाको कृषि कर्म

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा–२ का महिला स्वास्थ्य स्वयंसेविका मञ्जु बिजलेका घरमा पुग्दा उनी बारीमा व्यस्त भेटिन्छन्। २०७१ सालमा महिला स्वास्थ्य स्वयंसेविका भएकी उनी पछिल्लो समय नमूना कृषकको रूपमा अघि आएकी छन्।

उनले भनिन्, ‘महिला स्वास्थ्य स्वयंसेविका भएपछि धेरै कुरा सिके। आफ्नै बारीमा ताजा तरकारी उत्पादन गर्न सकिने कुरा सिके। यसबाट आफ्नो घरपरिवारलाई पनि फाइदा हुने, घर खर्च चलाउन पनि सजिलो हुने। मैले अहिले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएकी छु।’

महिला स्वास्थ्य स्वयंसेविका भएदेखि नै आफूले व्यावसायिक तरकारी खेती पनि सुरु गरेको मञ्जुले सुनाइन्। उनले भनिन्, ‘गाउँघरमा तरकारी लगाउने चलन थिएन्। गर्भवती र सुत्केरी महिलालाई सजिलो होस् भनेर मैले तरकारी खेतीको सुरुवात गरेकी हुँ। अहिले धेरैजसो गाउँलेले मेरै बारीबाट ताजा तरकारी किनेर लैजान्छन्।’

तरकारी खेतीको साथसाथै मञ्जुले घरायसी कुखुरापालन पनि गरेकी छन्। उनले सुधारिएको खोर बनाएर स्थानीय जातका कुखुरापालन गरेकी हुन्। उनले भनिन्, ‘मैले कुखुरापालन र तरकारीबाट वार्षिक तीन लाखहाराहारी कमाउँछु। त्यसका साथै आमा समूहको बैठकमा अन्य सदस्यलाई समेत जानकारी गराउने गरेकी छु।’

मञ्जुको बारीमा अहिले पनि लटरम्म बेमौसमी गोलभेंडा फलेको छ भने खोरमा २० भन्दा बढी स्थानीय जातका कुखुरा छन्। उनले भनिन्, ‘तरकारी र कुखुराको अण्डा गर्भवती महिलाका लागि निकै लाभदायक छ। अहिले गाउँमा सुनौलो हजार दिनका आमा अण्डा र तरकारी किन्न मेरै घरमा पुग्ने गरेका छन्। यसबाट आम्दानी पनि भइरहेको छ भने गर्भवती आमाको स्वास्थ्यमा सुधार आएको छ।’

गाउँकै महिला स्वास्थ्य स्वयंसेविकाले तरकारी उत्पादन र कुखुरापालनमा संलग्न भएर सुनौलो हजार दिनका आमाको स्वास्थ्यमा सहयोग पु¥याएकाले मञ्जुलाई ग्रामीण नमूना कृषकको रूपमा समेत छनोट गरिएको छ। ‘हामीले मञ्जुजीको मिहिनेत देखेर विभिन्न तालिम पनि दिएका छौं। आफूले सिकेका कुरा उहाँले व्यवहारमा पनि लागू गर्र्नुभएको छ।’

उनले थपिन्, ‘यसबाट उहाँको आम्दानी बढेको छ भने हजार दिनका आमाको पोषण स्थितिमा सुधार ल्याउन मद्दत पनि पुगेको छ।’ सुनौलो हजार दिनका आमा र बच्चाको पोषण र स्वास्थ्यमा सुधार ल्याउन काम गरिरहेको सुआहाराका जिल्ला कार्यक्रम संयोजक नगेन्द्र धामीले भने, ‘गाउँमा कुखुराको अण्डा खाने चलन थिएन। मञ्जुजी जस्ता नमूना कृषकले कुखुरापालन गर्न थालेपछि गाउँका गर्भवती र सुत्केरी आमाले पनि अण्डा खान पाएका छन्।’

कुखुरापालन र तरकारी खेतीबाट आफूलाई घरपरिवार सजिलो भएको मञ्जुका श्रीमान प्रकाश बिजलेले बताए। उनले भने, ‘हामी दुवै मिलेर तरकारी खेती र कुखुरापालन गरिरहेका छौं। चार वर्षयता हामीले तरकारी खेती र कुखुरापालनबाट आम्दानी गर्न थालेका छौं। यसले हाम्रो परिवार चलाउन सजिलो भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.