प्यूठान नगरपालिका महिना दिनदेखि प्रमुखविहीन
प्यूठान : प्यूठान नगरपालिका कार्यालय एक महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ।प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर रायमाझीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन्। उनी निलम्बनमा परेसँगै कार्यालयको काम प्रभावित भएको छ।
जिल्ला सम्वन्य समितिको कार्यालय सल्यानमा सम्वन्य अधिकारीको पदमा कार्यरत रहँदा संसद् विकास कोषको योजनामा काम नगरी भूक्तानी दिइएको आरोपमा अख्तियारले उनीमाथि मुद्दा हालेको छ। उनी निलम्बनमा परेपछि नगरपालिकाको कार्यसम्पादनमा असर परेको छ।रायमाझी सरुवा भएर प्यूठान आएको साढे चार महिना पुगेको थियो।
प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरपालिकाको आर्थिक गतिविधि ठप्प भएको छ। विभिन्न वडामा गरी सयौँ योजनाको भौतिक निर्माणको काम सम्पन्न भएपनि रकम भुक्तानी हुन सकेको छैन्।
नगरपालिकामा सेवा लिन पुग्ने सेवाग्राहीको संख्यामा कमी आएको छ। '५० भन्दा बढी योजनाको भुक्तानीका फाइल लेखा शाखामा थन्किएका छन्, 'निमित्त कार्यालय प्रमुख एवं लेखा अधिकृत विष्णुभक्त थापाले भने, 'प्रशासनिक काम सूचारु भएपनि आर्थिक अधिकार हामीलाई हुँदैन।'
जनताको तटबन्ध कार्यक्रम लमहीमा लेखा अधिकृत थापाको समायोजन भएको छ। उनी एक साताभित्रै सोही कार्यालयमा हाजिर हुँदैछन्। लेखापाल दुर्गाप्रसाद पौडेलको जनस्वास्थ्य कार्यालय प्यूठानमा समायोजन भएको छ।
कर्मचारी समायोजन र प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगरपालिकाले लिएको वार्षिक लक्ष्य हाँसिल गर्न कठिन पर्ने देखिएको छ।वैशाखसम्म सबै योजनाको भुक्तानी प्रक्रिया सक्ने योजना अपुरो हुने निमित्त कार्यालय प्रमुख थापाले सुनाए ।गत फागुन १ गतेदेखि आर्थिक कारोवार ठप्प भएको उनको भनाइ छ।
दुई साताभित्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत आइसक्ने नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिएका छन्। निमित्त कार्यालय प्रमुखलाई आर्थिक अधिकारका लागि माग गरेपनि मन्त्रालयले अख्तियारी नदिएको उनले सुनाए।