मुन्द्रा मोह

मुन्द्रा मोह

रामेछापका काजी गौतम (२६) १० वर्षअघि एसएलसी परीक्षा दिएर कलेज पढ्न काठमाडौं आए। भोलिपल्टै उनका मामाले फिल्म हेर्न लगे। मुन्द्रा लगाएका कलाकारको हाउभाउले उनलाई मोहित बनायो। मामासँगको सल्लाहपछि उनी मुन्द्रा लगाउने निर्णयमा पुगे। नछेडेको कानमा केही दिन फलामको मुन्द्रा च्यापेरै पनि हिँडे। 

कलेज जान थालेपछि उनको मुन्द्रामोह तत्काललाई तुहियो। प्राइभेट कलेजका प्रिन्सिपलले दुईचारपटक झपारे। प्लस टु पास गरेपछि उनले कान छेडे। मुन्द्रा किनेर लगाएको दिन सम्झँदै उनी भन्छन्, ‘त्यो दिन यति खुसी लाग्यो कि संसारै जितेजस्तो भयो। केही वर्षपछि चाँदीको मुन्द्रा बनाएँ। अहिले मसँग दसबाह्रवटा मुन्द्रा होलान्, फेरी फेरी लगाउँछु। ’

मुन्द्रा लगाएको पहिलोपटक देख्दा उनकी आमाले नाक खुम्च्याइन्। बुवा पनि ‘तँ बिग्रिने भइस्’ भन्दै गनगनाए। आजकल उनीहरूले सामान्य रूपमा लिइसके। गत वर्ष आमाले सुनको मुन्द्रा बनाइदिएपछि काजी धेरैजसो त्यही मुन्द्रा लगाउँछन्। ‘मुन्द्रा लगाउँदा राम्रो दृष्टिले नहेर्ने परिपाटी हाम्रो समाजमा अझै छ। मुन्द्रा एउटा फेसन हो। मुन्द्रा लगाउँदैमा फटाहा भइन्छ भन्ने छैन’, उनी भन्छन्। युवालाई नयाँनयाँ फेसनमा रमाउन अभिभावक र समाजले छेक्न नहुने उनको सुझाव छ। 

भोजपुरका रमेश राईले दुइटै कानमा मुन्द्रा लगाउन थालेको १० वर्षभन्दा बढी भयो। सानैमा आमाले लगाइदिएका मुन्द्रा फुकालेर सदरमुकाम गएका उनी सदरमुकामका साथीको संगतमा परे। केही महिनामै साथीहरूले जस्तै ठुल्ठुला मुन्द्रा लगाउन थाले। अब त उनलाई बानी नै परिसक्यो। मुन्द्रा नलगाई हिँड्नै नसक्ने भए उनी। 

भोजपुर सदरमुकामका घरबेटीले भाडा ढिलो दिएको निहुँमा उनलाई ‘चुल्ठे, मुन्द्रे’ भनेर तथानाम गाली गरे। त्यही झोँकमा उनी डेरा सरे। नयाँ घरबेटी हाँस्यकलाकार जितु नेपाल मुन्द्रेको टेली शृंखला नियमित हेर्दा रहेछन्। मुन्द्रेबाट प्रभावित घरबेटीले रमेशलाई ‘मुन्द्रेबाबु’ भनेर बोलाउन थाले। रमेश पनि मक्ख परे। उनी हिजोआज फेरिफेरि मुन्द्रा लगाउँछन्। बजारमा नयाँ डिजाइन देख्नासाथ किनिहाल्छन्। 

काठमाडौंमा उनका साथी प्रायः सबैले मुन्द्रा लगाउँछन्। बर्थ डेमा उनीहरू गिफ्ट पनि मुन्द्रा नै दिन्छन्। उनको समाजमा लामो कपाल पाल्ने, कपाल रंग्याउनेलाई राम्रो दृष्टिले हेरिँदैन। त्यसमा उनको विमति छ। ‘हाम्रो समाज परिवर्तनलाई आत्मसात् गर्न सक्दैन। सही र गलत छुट्याउन सक्ने मान्छे समाजमा थोरै छन्। कोही जानेर पनि बुझ पचाउँछन्। कतिपय मान्छे जन्मजात मुन्द्रा लगाउँछन्। उनीहरूलाई पनि एउटै आँखाले हेर्न मिल्दैन’, उनले भने। 

ललितपुर झम्सिखेलका राजन महर्जन मुन्द्रा भनेपछि हुरुक्कै हुन्छन्। दिनहुँ मुन्द्रा फेर्ने उनले साथीहरूसँग मिलेर मुन्द्रे ग्रुप बनाएका छन्। पढाइका अतिरिक्त सामाजिक काममा सामेल हुन्छन् उनी। कहिले बाग्मती सफाइमा जुट्छन् त कहिले सडक सफाइमा। २०७२ सालको विनाशकारी भूकम्पपश्चात् उनीहरू राहत सामग्री लिएर सिन्धुपाल्चोक पुगे। यसले उनीहरूको चर्चा चुलियो। समाजमा उनीहरूको भाउ बढेर गयो। ‘हामीलाई अभिभावक र आफन्तले त्यति पत्याउँदैनथे। मुन्द्रे ग्रुप भनेर मतलब गर्दैनथे। हाम्रा काम देखेपछि सामाजिक काममा समेत निम्ता पाउन थालेका छौं’, महर्जनले सुनाए। 

डडेलधुराका मनोज साउद हास्य अभिनेता जितु नेपालबाट प्रभावित भएर मुन्द्रा लगाउँछन्। उनलाई गर्लफ्रेन्डले पनि बेलाबेला मुन्द्रा गिफ्ट दिने गरेकी छन्। एसएलसी दिएको साल साउदले दुई विषय बिगारे। अर्को साल बल्लबल्ल पास गरेका उनी मुन्द्रेको एसएलसी कथासँग पनि जोडिए। काठमाडौं आएपछि एक कार्यक्रममा जितु नेपालसँग फोटो खिचाए। ‘मुन्द्रेसँगको फोटो फ्रेम गरेर राखेको छु’, उनी सुनाउँछन्। 

गायक तथा संगीतकार नरेश भुर्तेलले मुन्द्रा लगाउन थालेको नौ वर्ष भयो। सुरुमा निखिल उप्रेती अभिनीत फिल्म हेरेपछि उनले मुन्द्रा लगाउन थाले। अहिले उनले दुवै कानमा सुनका मुन्द्रा लगाएका छन्। ‘समाजमा अझै पनि मुन्द्रा लगाउनेलाई राम्रो नजरले हेरिँदैन। युवाका व्यक्तिगत रहर र विचारलाई महत्त्व दिने चलन छैन। युवा पुस्ता फेसनमा रमाउन चाहन्छ। युवाका रहर पूरा गर्न दिनु आवश्यक छ’, उनले भने। 

रौतहटका सागर दास सानैदेखि मुन्द्रा लगाउँछन्। हजुरआमाले सानैमा ग्रहदशा काट्न भन्दै लगाएदिएको मुन्द्रा उनले फुकालेका छैनन्। केही वर्षदेखि काठमाडौँमा इन्जिनियरिङ पढ्दै आएका उनलाई साथीहरूले सुरुमा ट्यापे भनेर हेला गरे। प्रिन्सिपलले समेत केरकार गरे। काकालाई बोलाएर स्पष्टीकरण लिए। पहिलो सेमेस्टरको रिजल्ट भएपछि साथीहरू एकाएक नजिकिए। हिजोआज उनीहरू सागरलाई पढ्न सिकाइमाग्छन्। 

मनिष रोकाया (२७)लाई मुन्द्राको रस खासै थाहा थिएन। साथीहरूले लगाए पनि उनी खासै वास्ता गर्दैनथे। तीन वर्षअघि बर्थ डेमा उनलाई भाउजूले मुन्द्रा उपहार दिइन्। त्यसपछि नियमित मुन्द्रा लगाउन थाले। साथीहरूले ‘क्या सुहाएको’ भन्दै उनको प्रशंसा गरे। मुन्द्रा नलगाउँदा उनलाई केके छुटेजस्तो लाग्छ। उनी ऐना हेर्छन् र मुन्द्रा हल्लाउँदै मक्ख पर्छन्। मुन्द्रा फेसन भएकाले युवालाई रहर पूरा गर्न दिनुपर्ने उनी बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.