बजेट सक्न बर्खाको पर्खाइ

बजेट सक्न बर्खाको पर्खाइ

रुपन्देही : स्थानीय तहले गत वर्ष बजेट समयमै खर्च गर्न नसक्नुलाई सिकाइको पहिलो वर्ष भन्दै बहानाबाजी गरे। तर, यो वर्ष पनि रुपन्देहीका स्थानीय तहको पुँजीगत बजेटको खर्च अवस्था निकै दयनीय छ। अधिकांश स्थानीय तह जेठ, असारमै योजना कार्यान्वयन गर्ने तयारीमा छन्। ठूला मानिने योजनाको टेन्डर प्रक्रियासमेत थालिएको छैन। यसको अर्थ बर्खा लागेपछि मात्रै बाटो खन्ने, ग्राभेल र पिचको काम हुनेछ। 

शुद्धोधन गाउँपालिकाले सार्वजनिक गरेको फागुन मसान्तसम्मको ससर्तबाहेक बजेटको खर्चअन्तर्गत ४ सय २ वटा खर्चका शीर्षक उल्लेख छन्। जसमा २ सय ४० शीर्षकको खर्च प्रतिशत शून्य छ। खर्च भएको भनिएको शीर्षक धेरैजसो चालुतर्फको हो। पुँजीगततर्फका अधिकांश योजना तथा कार्यक्रममा बजेट शून्य प्रतिशत खर्च भएको देखिएको छ। फागुन मसान्त सकिएसँगै आर्थिक वर्षको दुईतिहाइ अवधि पनि पार भएको छ। अधिकांश स्थानीय तहको पुँजीगततर्फ एकतिहाइ खर्च देखिन अझै केही समय लाग्छ। सडक मर्मत तथा स्तरोन्नति, पुल तथा कल्भर्ट बनाउने, खानेपानी, सिँचाइ, सामुदायिक भवन निर्माणलगायत काममा कत्ति पनि खर्च भएको छैन। 

शुद्धोधनमा मटेरियादेखि गोगौली हुँदै सिसवासम्मको सडक कालोपत्रे गर्न ३० लाख रुपैयाँ विनियोजन भएको छ। तर, हिउँदमा केही काम भएको छैन। गाउँका स्थानीयले धुलो खाएर बस्नुपरेको छ। ‘बाटोका लागि बजेट परेछ भन्ने सुनेको हो। काम केही भएको छैन। धुलो खाइरहनुपरेको छ’, स्थानीय घनश्याम मुराउले भने, ‘पिच भयो भने त आउने बर्खामा हिलो खानु पर्दैनथ्यो कि। ’

उक्त सडकअन्तर्गत बस्ती परेको ठाउँमा निकै साँघुरो भएकाले पनि केही ढिलाइ भएको वडाध्यक्ष शिवपूजन बानियाँले बताए। ‘टोल परेको ठाउँमा १२–१३ फुट बाटो परेको छ। त्यसमा कालोपत्रे गर्न नमिल्ने। त्यहाँका स्थानीयसँग छलफल गरेर २२ फुटभन्दा चौडा गराउने सहमति गरेका छौं’, उनले भने, ‘३ जनाजतिको घर परेको छ। केही दिनभित्र हटाउने सहमति जनाउनुभएको छ। हटाएपछि लगत्तै सुरु गर्छौं। ’ उनले नदीजन्य पदार्थ अभावमा पनि काम हुन नसकेको बताए। 

यसबाहेक दर्जनांै बाटाघाटा र पूर्वाधार निर्माणका काम शुद्धोधन गाउँपालिकामा सुरु भएकै छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीका अनुसार दोस्रो चौमासिक सकिँदासम्म २५ देखि ३० प्रतिशत मात्र पुँजीगततर्फको बजेट खर्च भएको छ। 

शुद्धोधन गाउँपालिकाले जसरी अन्य स्थानीय तहले विस्तृत रूपमा खर्च विवरण वेबसाइटमा राखेका छैनन्। तर, बजेटको खर्च प्रक्रिया भने उस्तै छ।  रुपन्देहीको पश्चिममा रहेको कञ्चन गाउँपालिकामा पनि विकासका काम सुरु भएको छैन। गाउँपालिकामा २२ प्रतिशत मात्र पुँजीगत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताए। विकास निर्माणमा सम्झौता र स्टेमेट सकिएको र निर्माण छिट्टै सुरु हुने कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले बताए। ‘चालु खर्च र लक्षित वर्ग, तालिमलगायत कार्यक्रम तीव्र रूपमा भएका छन्’, उनले भने, ‘अब ३ महिनामा विकास निर्माण पनि सक्छौं। ’

नदीजन्य पदार्थ उपलब्ध नभएकाले विकास निर्माणमा ढिलाइ भएको जनप्रतिनिधिले बताउने गरेका छन्। तर, स्थानीय तहले नै खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न बल्ल ठेक्का प्रक्रिया सुरु गरेका छन्। 

रुपन्देहीको सियारी गाउँपालिकामा पुँजीगततर्फ २० करोड रुपैयाँ विनियोजन गरिएको थियो। अहिलेसम्म साढे ३ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो २० प्रतिशतभन्दा पनि कम हो। खर्च केही कम देखिए पनि काम भने अघि बढेको प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले बताए। ‘भुक्तानी लैजान ढिला गरेकाले वित्तीय प्रगति कम देखिएको हो,’ उनले भने, ‘विभिन्न कारणले काम ढिलै सुरु भएको हो। अब उपभोक्ता समितिलाई पनि सक्रिय हुनुस् भनेका छौं, असार १५ सम्म ९५ प्रतिशत विकासका काम सक्छौं। ’

स्थानीय तहमा जनप्रतिनिधि हुँदा होस् वा नहुँदा विकास निर्माणमा जताततै ढिलाइ भएको देखिन्छ। यो वा त्यो बहानामा ढिलाइ गर्ने र बेला घर्किन लागेपछि तात्ने प्रवृत्ति फेरिएको छैन। अहिलेसम्म विकासका काम सुरु नहुँदा असार लागेपछि बजेट सक्न धमाधम काम हुने निश्चित छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.