नेपाल स्थायित्वतर्फ : पूर्वअमेरिकी राजदूत डेलिसी
अमेरिका : नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलिसीले नेपालको भविष्य उज्ज्वल रहेको बताएका छन् । उनले नेपाल राजनीतिक स्थिरतातर्फ गएको भन्दै अब चाँडै समृद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग डिसीस्थित नेपाली दूतावासमा भएको भेटमा पूर्वराजदूत डिसीले राजनीतिक स्थायित्व र समृद्धिबारे धारणा राखेका थिए ।
सन् २०१० देखि सन् २०१२ सम्म राजदूत रहेका डेलिसीले दाहाल र आफूबीच नेपालको वर्तमान चुनौती र त्यसलाई चिर्न चाल्नुपर्ने कदमका विषयमा बहस भएको बताए ।‘दाहाल अहिले नेकपाका अध्यक्ष हुनुहुन्छ । हामीबीच भेट हुँदा उहाँ माओवादीका नेता हुनुहुन्थ्यो । हामीले नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन निकट रहेर काम गर्यौं,’ डेलिसीले फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘अहिलेको भेट नेपालको समृद्धि र विकासमै केन्द्रित रह्यो ।’
नेपाली राजदूत डा. अर्जुन कार्कीसहितको भेटघाटले आफू निकै उत्साहित भएको डेलिसीले बताएका छन् ।नेपाल शान्ति प्रक्रिया टुंगोमा पुग्ने चरणमा रहेका बेला डेलिसी नेपालका लागि राजदूत थिए । त्यसअघि इरिट्रियाको राजदूत रहेका डेलिसी नेपालपछि युगान्डाको राजदूत भए ।
राजनीतिक भेटघाट नगर्ने भन्दै अमेरिका गएका नेकपा अध्यक्ष दाहालले पूर्वराजदूत डेलिसीसँग भेटघाट गर्दै राजनीतिक र कूटनीतिक छलफल अघि बढाएका हुन् । दाहालले डेलिसीको व्यक्तिगत चाहनामा यो भेटघाट भएको बताए । यसअघि उनले नेपाली दूतावासको अवस्थाबारे जानकारी लिएका थिए ।
पत्नी सीताको उपचारका लागि परिवारका अन्य तीन सदस्यसहित सोमबार अमेरिका आइपुगेका दाहाल करिब १० दिन अमेरिका बस्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले बतायो । सीताको उपचार जोन हप्किन्स अस्पतालमा भइरहेको छ ।
अध्यक्ष दाहालको रेखदेख डिसीस्थित नेपाली राजदूतावासले गरिरहेको छ । तर दाहालको निजी भ्रमण भएकाले दूतावासले कुनै जानकारी दिन मानेको छैन । ‘माथिबाट नै कुनै जानकारी नदिनु भनिएकाले हामी मौन छौं,’ दूतावासका एक अधिकारीले भने, ‘हाम्रो मुख बन्द गरिएको छ । हामी बोल्न मिल्दैन । हाम्रो संलग्नता छ पनि छैन पनि ।’