सुत्केरीको मृत्यु पछि सेती अञ्चल अस्पतालमा तनाव (अपडेट )
धनगढी : धनगढीस्थित सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको छ।चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले कारवाहीको माग गरेका छन्।
धनगढी उप-महानगरपालिका-१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको सुत्केरी पछि मृत्यु भएको हो। आफन्तले चिकित्सको लापरवाहीले उनको मृत्यु भएको आरोप लगाएका छन्।
चैत ३ गते सुत्केरीका लागि अस्पताल ल्याइएकी २२ वर्षीया थापाले ४ गते अप्रेसन गरेर छोरालाई जन्म दिएकी थिइन्। शिशुलाई भने अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
सुत्केरी भएपछि थापाको पेट सुन्निदै गएको थियो। चिकित्सकलाई पेट सुन्निएको खबर गर्दा पनि उपचारका लागि वास्ता नगरेको गुनासो मृतकका श्रीमान जय थापाको छ।३ दिनसम्म सेती अस्पतालमै राखेर उपचार गरिरहेका आफन्तलाई ७ गते सेती अस्पतालका चिकित्सकले उपचार गर्न नसक्ने भन्दै रिफर गरिदिएको उनले जानकारी दिए।
उनलाई कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। मृत्युपश्चात सेती अञ्चल अस्पतालमै उनको शव ल्याएर आफन्तले अप्रेसन पछि बिरामीको स्याहार नगेको भन्दै चिकित्सकलाई कारवाहीको माग गरेका छन्।
सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने घटना के कति कारणले भएको हो यसबारे बैठक बसिरहेको बताए। अस्पताल परिसरमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ।अहिले प्रदेशको सामाजिक मन्त्रालयका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रशासन र पीडित पक्षबीच सहमतिका लागि बैठक बसिरहेको रहेको अस्पताल स्रोतले जनाएको छ।