म्याग्दीका एसईई परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष
बेनी : म्याग्दीमा माध्यमिक तहको परीक्षा (एसईई) केन्द्रमा प्राथमिक उपचार कक्षको व्यवस्था गरेको छ। म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष र महिनावारी हुने छात्राको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था मिलाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।
एसईईको तयारीका लागि केन्द्राध्यक्ष नियुक्ति गरेर प्रश्नप्रत्र र उत्तरपुस्तिकासहित केन्द्रमा पठाइसकेको इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिए।उनले भने, 'आकस्मिक उपचारका लागि छुट्टै सम्र्पक व्यक्ति र आवश्यक औषधि तथा सेनेटरी प्याडको व्यवस्था मिलाएका छौं।'
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको पन्ध्र हजार रुपैयाँबाट सबै केन्द्रमा कुल छात्रा संख्याको पन्ध्र प्रतिशतका दरले सेनेटरी प्याड र अत्यावश्यक औषधिको व्यवस्था मिलाएको थापाले बताए।
चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि ९ जना केन्द्राध्यक्ष, १५ सहायक केन्द्राध्यक्ष, ११२ निरीक्षक, २१ जना परीक्षा सहायक र २३ जना सहयोगी जनशक्ति परिचालन हुने विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले बताए।
१० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १ सय११ जना छात्रा र १ हजार १ सय ३१ जना छात्र गरी कुल दुई हजार २४२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
आवेदन फारम भरेका मध्ये धवलागिरी गाउँपालिका-२ को लमसुङ माविका ५ जना र प्रकाश मावि बेनीको खुल्ला विद्यालयका ५ जनासहित ३१ जना ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षा दिनबाट बञ्चित भएका छन्।
रघुगंगा गाउँपालिका ३ मौवाफाँटको ज्ञानोदय माविका दुईजना दृष्टिविहीन विद्यार्थी मुक्तिधाम मावि भगवतीबाट एसईईमा सहभागी हुँदैछन्। सदरमुकामको प्रकाश र बेनी सामुदायिक तथा न्यु वेष्ट पोइन्ट, शिवाङको हेम, दरवाङको जनप्रिय, बाबियाचौरको मंगला, सिंगाका धौलागिरि, भगवतीको मुक्तिधाम र घारको मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ।परीक्षालाई मर्यादित, अनुशासित र सभ्य बनाउन विभिन्न तहमा प्रभावकारी अनुगमनको व्यवस्था मिलाइएको थापाले बताए।