मुलायमको निःशुल्क शल्यक्रिया
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका–६ दोन्द्राका ७२ वर्षीय मुलायम भनिने वोरीलाल अहिरको ट्यूमरको सफल शल्यक्रिया भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले शुक्रबार दिउँसो उनको निःशुल्क शल्यक्रिया गरेको हो। अन्नपूर्ण पोस्ट् दैनिकमा ‘टाउको जत्रै ट्यूमर’ शीर्षकमा समाचार प्रकाशन भएपछि रेडक्रसकर्मी रुपन ज्ञवालीको पहलमा अस्पताल प्रशासन उनको निःशुल्क शल्यक्रिया गर्न तयार भएको हो।
अस्पतालका ओरल एण्ड म्याग्जिलोफेसियल सर्जन डा. द्वारिकाप्रसाद बजगाईको नेतृत्वमा डा.अरुणकुमार महत, डा. अंशु शर्मालगायतको समूहले सफल शल्यक्रिया गरेको हो। ‘अप्रेशन राम्रो भएको छ। थप जाँचका लागि बायोप्सी टेष्ट गर्न पठाएका छौं’, अप्रेशनपछि डा.बजगाईले अन्नपूर्णसँग भने, ‘दुई वर्षको अवधिमा अस्पतालमा मैले देखेको यो सबभन्दा ठूलो ट्यूमर हो।’ अप्रेशनबाट झन्डै एक किलोको ट्यूमर निकालिएको उनले जानकारी दिए।
लामो समयदेखि ट्यूमर भएकाले अन्य केही समस्या भए नभएको बारे बायोप्सी टेस्टको रिपोर्ट आएपछि थाहा हुने उनले बताए। विपन्न र आफन्त कोही नभएकाले मुलायमको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले बताए। ‘हामीले गरीब तथा असहायलाई पटक–पटक निःशुल्क सेवा प्रदान गरेका छौं’, उनले भने।
अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाए पनि आफन्त कोही नभएकाले मुलायम नेपालगन्ज आउन सकेका थिएनन्। अन्नपूर्णकर्मीको अनुरोधमा नरैनापुर ६ का वडा सचिव जीवनलाल यादवले स्थानीय पारशनाथ विश्वकर्मालाई मुलायमलाई सघाउन पठाएका थिए। मुलायम पारशनाथको घरमा खाना खाने र बस्ने गर्थे। नरैनापुर–६ स्थित दुर्गा हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक सोहनलाल यादवले अप्रेशनपछि मुलायमका लागि आवश्यक सम्पूर्ण औषधिका लागि सहयोग गर्ने घोषणा गरेका छन्। पाँच वर्षको उमेरमा बाआमा गुमाएका यादवको १० वर्षको उमेरदेखि गालामा मासुको डल्लो देखिएको थियो। आर्थिक अभावमा ट्यूमर बढ्दै गएको थियो। ट्यूमरकै कारण उनको विवाहसमेत हुन सकेन।