निरोगी रहन योग
नेपालगन्जकी माला शर्मालाई डिप्रेसनको समस्या थियो। डेढ वर्षदेखि नियमित औषधिसेवन गर्थिन्। ०७२ सालको भूकम्पमा पति अच्यूत सुवेदीलाई गुमाएपछि झन् विचलित भइन्। आफूलाई सम्हाल्नै नसक्ने स्थितिमा पुगिन्। ‘कसैले बेलुका क तरकारी खाएकी थियौ भनेर सोध्दा भन्न सक्दिनथें’, उनले ती दिन सम्झिन्, ‘निद्रा लाग्दैनथ्यो। निद्रा लगाउने औषधि खान्थें। पतिको निधनपछि त झन् कोठामा एक्लै बसेर रुन्थें।’
०७२ सालको अन्त्यतिर काठमाडौंमा द आर्ट अफ लिभिङको योग, ध्यानसम्बन्धी तीनदिने ह्याप्पिनेस प्रोग्राममा सहभागी हुने अवसर पाइन्। तालिमको अन्तिम दिन उनी डेढ दुई वर्षपछि पहिलो पटक खुलेर हाँसिन्। खुसी भइन्। प्रशिक्षकले डिप्रेसनको औषधि एकैपटक नछाड्नु। बिस्तारै घटाउँदै जानु भनेर सुझाव दिएका थिए। उनले औषधि खान छाडिन्। आजभोलि औषधि खान परेको पनि छैन। भन्छिन्, ‘मृत्युको मुखमा पुगिसकेकी थिएँ। योग र ध्यानकै माध्यमबाट नयाँ जीवन पाएँ।’
माला संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीकी बुहारी हुन्। पूर्णकुमारीले मालालाई छोरीजस्तै अन्भाएर सुधीर गौतमसँग दोस्रो बिहे गराएर फेरि दाम्पत्य जीवनमा प्रवेश गराएकी छन्। माला खुसी छन्। भन्छिन्, ‘आज म जुन अवस्थामा छु। योग, ध्यान र आर्ट अफ लिभिङको सुदर्शन क्रियाकै कारण सम्भव भएको हो।’
नेपालगन्जमा पर्वत पुस्तक पसलका सञ्चालक राजु काफ्ले एक वर्षयता नियमित योग र ध्यान गर्छन्। योग र ध्यानले आफ्नो व्यवहार र जीवनमा परिवर्तन आएको दाबी गर्छन् उनी। पहिले पहिले ग्राहक झर्र्केर बोले उनी ग्राहकभन्दा पनि धेरै झर्किन्थे, अनि ग्राहक भड्किन्थे। अहिले त्यस्तो छैन। ‘मेरो डिलिङ कन्फिडेन्स बढेको छ’, उनले भने, ‘ग्राहक बढ्ेका छन्। व्यापार पनि बढ्दै छ। रिसाउने ग्राहकलाई खुसी पारेर पठाउँछु।’
कम्युनिटी मेडिसिनमा एमडी गरिरहेकी डा.प्रसूति शर्माले साउन महिनायता नियमित योग गरिरहेकी छिन्। योग शिविर सञ्चालन हुँदा उनी भ्याएसम्म सेवामा पनि तत्पर पनि हुन्छिन्। ‘योग गर्न थालेपछि सकारात्मक सोच विकास भएको छ’, उनले अनुभव सुनाइन्।
नियमित योग गर्दा रोग लाग्नबाट जोगिने र दीर्घरोगीको स्वास्थ्यमा क्रमशः सुधार आउँछ र आयु बढाउँछ।
सरोज रेग्मी हिमालयन बैंकको नेपालगन्ज शाखाका श्रण अधिकृत हुन्। ९ महिनादेखि उनले एक दिन पनि योग गर्न छुटाएका छैनन्। भन्छन्, ‘चिन्ता र तनाव घट्दै छ। सकारात्मक सोच भएका मानिसहरूको सञ्जालमा बस्न पाउँदा रचनात्मक काम गर्न सहज भएको छ।’
माला, राजु, डा.प्रसूति र सरोज त नियमित योग गर्ने नेपालगन्जका प्रतिधिनि पात्र मात्र हुन्। बाँकेमा नियमित योग र ध्यान गर्ने जमात बढ्दै गएको छ। आर्ट अफ लिभिङ, पतञ्जली, ओमशान्ति, जिल्ला आयुर्वेद केन्द्र, प्राकृतिक चिकित्सालयलगायत आधा दर्जनभन्दा बढी योग र ध्यान सिकाउने संघसंस्था यहाँ क्रियाशील छन्। आर्ट अफ लिभिङको नेपालगन्ज शाखा संयोजक सञ्जय थापा वार्षिक क्यालेन्डर नै बनाएर नियमित योग, ध्यान शिविर सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन्।
के हो योग ?
‘नास्ती योगसमं बलम्’ अर्थात योग समान अर्को बल नभएको योगाचार्यहरू बताउँछन्। भगवान शिवबाट योगको प्रतिपादन भएको विश्वास गरिन्छ। योग विस्तार गर्नेमा महर्षि पतञ्जलीको नाम अग्रपंक्तिमा आउँछ। उनले अस्थिर मन स्थिर बनाउनु नै योग भएको बताएका छन्।
अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलता, जीवनबाट ब्रह्मतर्फ गरिने यात्राका रूपमा योगको व्याख्या गरिन्छ। आध्यात्मिक गुरुहरू योगलाई विज्ञानभन्दा माथि चेतना विज्ञानका रूपमा व्याख्या गर्छन्।
आर्ट अफ लिभिङका संस्थापक आध्यात्मिक गुरु श्री श्री रविशंकर योग शारीरिक अभ्यास (व्यायाम वा आसन) मात्र नभएर आध्यात्मिक उन्नतिको मार्ग नै भएको दाबी गर्छन्। योगबाट शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकाकार गरिने उनको भनाइ छ। योगमा व्यायाम (आसन) गरिन्छ। योग शरीरको मात्र नभएर मन र चेतनाको पनि अभ्यास हो। योगलाई साससासमा चलिरहने प्रक्रियाका रूपमा पनि योग गुरुहरू अथ्र्याउँछन्।
कसले र कहिले योग ?
योग गर्न उमेरले छेक्दैन। कम्तीमा पनि ४÷५ वर्षका बालबालिकादेखि वृद्धवृद्धा सबैले योग गर्न सक्छन्। तर उमेरअनुसार योगाभ्यास फरक फरक हुन्छ। आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्साल शरीरले थेग्न सक्नेसम्म मात्र योग गर्नुपर्ने सुझाव दिन्छन्।
योग गर्न हावा आवतजावत गर्ने खुला ठाउँ उपयुक्त मानिन्छ। स्वच्छ हावा चल्ने जंगल र नदीको किनारमा योग गर्दा त्यसको प्रभाव अझ बढ्छ। कुनै निश्चित समयमा विश्वासपूर्वक नियमित योग गरे बढी फाइदा हुने प्रशिक्षक लम्साल दाबी गर्छन्, ‘योगले तनावरहित मन, रोगरहित शरीर र हिंसारहित समाज बनाउँछ।’
योगको पूर्वसर्त हो, खाली पेट। बिहानै योग गर्नु उपयुक्त हुन्छ। बिहान नभ्याए साँझ खाना खानुअघि पनि गर्न सकिन्छ। बिहान र साँझ दुवै समय योग गर्नु हुँदैन। दिनमा एकैपटक मात्र योग गर्ने हो। केही योग र ध्यान भने एक पटकभन्दा बढी गर्र्न सकिन्छ।
योग गरेको २० मिनेटपछि मात्र भोजन गर्नुपर्छ। भोजन गरेको ३÷४ घण्टापछि पनि योग गर्न सकिन्छ। महिनावारी भएको, जीउ दुखेको र बिरामी भएको वा कुनै विशेष रोग लागेका बेला योगासन गर्न हुँदैन। गर्भावस्थाको बेला योग प्रशिक्षक वा स्त्रीरोग विशेषज्ञको परामर्शमा मात्र गर्नुपर्छ। अपरेसन गरेको कम्तीमा ६ महिनादेखि एक वर्षपछि मात्र योग गर्न सकिन्छ।
कम्तीमा पनि १० मिनेट शारीरिक, १० मिनेट योगासन र १० मिनेट ध्यान गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ। दिनमा कम्तीमा आधा घण्टादेखि एक घण्टा योग गर्दा जीवनशैलीमा परिवर्तन आउने अध्ययन अनुसन्धानले पुष्टि गरेका छन्।
योगबाट हुने फाइदा
योगले शरीरका अंगप्रत्यंग गतिशील बनाउँछ, शरीरका सबै कोशिका सक्रिय बनाउँछ। विधिपूर्वक गरिने योगबाट हानी हुँदैन, फाइदा हुन्छ। योगले शरीरको रक्तसञ्चार व्यवस्थित गर्छ, मुटु र रक्तनली सफा गर्छ, पाचन क्षमता बढाउँछ, शरीरमा बढी भएको क्यालोरी घटाउँछ, हाडजोर्नी खुकुलो बनाउँछ र मस्तिष्क सफा पार्छ।
दीर्घरोगीलाई पनि योग लाभदायक हुन्छ भने रोगै लाग्न नदिन पनि यसले रोग प्रतिरोध क्षमता बढाउँछ। हाडजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई बढी फाइदा हुन्छ। हाडजोर्नी बलियो हुन्छ।
जिल्ला आयुर्वेद केन्द्र बाँकेका प्रमुख डा. अनिलकुमार चौधरी योग मानव शरीरको सर्वांगीण विकासका लागि महत्वपूर्ण भएको बताउँछन्। शरीर स्वस्थ राखेर आयु बढाउन मद्दत गर्छ। डा.चौधरी बाथरोग, पाचन प्रक्रिया, मोटोपन, युरिक एसिड, हाडजोर्नी, महिनावारी नियमित, थाइराइड, मधुमेहलगायत रोगमा योग र ध्यानबाट सुधार ल्याउन सकिने दाबी गर्छन्।
‘योग गरेर मात्र हुँदैन। आहारविहारमा पनि सुधार ल्याउनुपर्छ’, डा.चौधरी भन्छन्, ‘योग गर्नेले सात्विक भोजन, सात्विक विचार र ब्रह्मचर्यको पालन गर्न सके धेरै उपकारी र गुणी हुन्छ।’