टीट्वेन्टीको सिजन

टीट्वेन्टीको सिजन

इन्डियन प्रिमियर लिग (आईपीएल)को १२औं संस्करण शनिबारबाट भारतका विभिन्न सहरमा सुरु हुँदै छ। आईपीएल विश्वकै सर्वाधिक धनी लिगमा मात्रै पर्दैन, संसारका उत्कृष्ट खेलाडीको जमघट र प्रतिस्पर्धाले पनि यसलाई छुट्टै रोमाञ्चकता प्रदान गर्ने गर्छ। विश्व क्रिकेटको लोकप्रिय स्वरूप टीट्वेन्टी फम्र्याटमा हुने आईपीएलले संसारभर छुट्टै लोकप्रियता हासिल गरेको छ। १२औं संस्करणसम्म आइपुग्दा आईपीएल संसारकै महँगो ‘ब्रान्ड’ मात्र होइन, सबैको प्रिय प्रतियोगिता पनि बन्न सफल भएको छ। उत्कृष्ट खेलाडीको जमघट, छक्का चौकाको वर्षा, चेयरलिडरको ‘डान्सिङ हुटिङ’ र अन्तिम बलसम्मको रोमाञ्चकता आईपीएलका विशेषता हुन्।

क्रिकेटलाई ‘संस्कृति’ र क्रिकेटरलाई ‘भगवान्’ मान्ने भारतमा आईपीएलले हासिल गरेको लोकप्रियता मापन गर्न गाह्रो हुन्छ। आईपीएल सञ्चालन हुने एक महिना बलिउडका एक से एक स्टार पनि यस अवधिमा आफ्नो चलचित्र रिलिज नहोस् भन्ने चाहन्छन्। प्रतिष्ठित निर्माता र वितरक पनि यस अवधिमा फिल्म रिलिज गर्न हिच्किचाउँछन्। किनभने यस अवधिमा दर्शकको भीड चलचित्र हलमा होइन, क्रिकेट स्टेडियमतिर हुन्छ। उनीहरू पर्दामा हिरो हिरोइनको रोमान्सभन्दा क्रिस गेल, विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केरोन पोलार्डजस्ता खेलाडीको चौका छक्का र टिम साउथी, ट्रन्ट बोल्ट, जसप्रीत बुमराह, एडम जाम्पा र सन्दीप लामिछानेले विकेट लिँदा उद्वेलित हुन्छन्।

आईपीएल यस्तो प्लेटफर्म हो, जसले थुप्रै युवा खेलाडीलाई स्टार बनाएको छ। एक वर्ष अगाडिसम्म युवा स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटमा गुमनाम थिए। अघिल्लो वर्ष दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएपछि सन्दीप रातारात स्टार बने। आईपीएलमा अन्तिम तीन खेल मात्रै खेले पनि उनले संसारभर अवसर पाए। आईपीएलपछि अस्ट्रेलिया, क्यानडा, बंगलादेश, पाकिस्तान लगायतका लिगमा आफ्नो जादु देखाए। पाकिस्तान सुपर लिग सकेर गत साता छोटो अवधिका लागि नेपाल आएका उनी आईपीएल खेल्न भारत पुगिसकेका छन्। उनलाई यसपाली पनि दिल्ली (क्यापिटल्स)ले रिटेन गरेको थियो।

सन्दीप लामिछाने मात्र होइन, आईपीएले थुप्रै खेलाडीलाई स्टारको रूपमा अगाडी ल्याइदिएको छ। आइपीएलको १० औं संस्करणबाट चर्चामा आएका अफगानिस्तानका रसिद खान अहिले विश्वकै सर्वोत्कृष्ट स्पीनर बन्न सफल भइसकेका छन्। भारतका थुप्रै नयाँ खेलाडीहरू आईपीए कै प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएको देखिन्छ ।

आईपीएलमा सदाझैं यसपटक पनि आठ टोलीको सहभागिता छ। विश्व क्रिकेटको स्वरूप नै परिवर्तन गर्न सफल यस प्रतियोगितामा कुल ६२ खेल हुने छन्। हरेक खेल भिन्दाभिन्दै स्थान र मैदानमा हुनेछ। आईपीएल २०१९ को उद्घाटन शनिबार तमिलनाडुको एमए चिदाम्बरन स्टेडियममा साविक विजेता चेन्नई सुपर किङ र रोयल च्यालेन्जर बैंग्लोरबीच हुनेछ। आईपीएलको फाइनल खेल भने मे १२ मा वाङ्खडे स्टेडियम मुम्बईमा हुने तय भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २००८ बाट सुरु गरेको प्रतियोगिता विश्वकै सर्वाधिक लोकप्रिय घरेलु लिग बनेको छ। साथै खेल मिलेमतो र आर्थिक अनियमिताका कारण यसले बदनामी खेप्नु परे पनि यसको लोकप्रियतामा भने कमी आएको छैन। स्पट फिक्सिङकै कारण चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स दुई वर्ष प्रतिबन्धमा परेका थिए। फ्रेन्चाइजको आधारमा चल्ने प्रतियोगितामा सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंग्लोर, मुम्बई इन्डियन्स, राजस्थान रोयल, चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइटराइडस् सहभागी छन्। सहभागी टोलीले ‘होम एन्ड अवे’का आधारमा प्रतिस्पर्धा गर्ने छन्।

आईपीएलमा लिग चरणका खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ। यस्तै प्लेअफका खेलहरू भने नकआउटका आधारमा खेलाइने छ। प्रत्येक टिममा अक्सनबाट भारतीय तथा विदेशी खेलाडी अनुबन्ध गरिएको छ। यसपटक भारतीय बलर जयदेव उनाद्कड र ब्याट्सम्यान बरुण चक्रवर्ती सर्वाधिक आठ करोड ४० लाख भारुमा अनुबन्ध भएका छन्। जयदेवलाई राजस्थान रोयल्स र चक्रवर्तीलाई किङ्स इलाभेन पञ्जाबले अनुबन्ध गरेको हो। यस्तै इङ्ल्यान्डका साम कुरान किङ्स इलाभेन पञ्जाबमा सात करोड २० लाख, दक्षिण अफ्रिकाका कोलिन इन्ग्रामलाई दिल्ली क्यापिटल्सले ६ करोड ४० लाखमा किनेको छ। आईपीएलको अघिल्लो संस्करणमा भने इङ्ल्यान्डका बेन स्टोक्स सर्वाधिक महँगा खेलाडीमा दरिएका थिए। अघिल्लो संस्करणमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको थियो। आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका उनलाई यसपटक पनि दिल्लीले रिटेन गरेको छ। तर उनले पाउने रकम भने अहिलेसम्म खुलाइएको छैन। अघिल्लो संस्करणमा अधिकांश समय बेन्चमा बसेका सन्दीपले पछिल्ला तीन खेल खेल्दै पाँच विकेट लिएका थिए। त्यही तीन खेलले उनलाई रातारात स्टार बनाएको थियो। लगातार खेल हारेपछि दिल्ली अघिल्लो संस्करणमा पुछारमा रहेको थियो।

आईपीएलमा अहिलेसम्म सबैभन्दा सफल टोलीमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स हुन्। मुम्बई र चेन्नईले अहिलेसम्म तीनपटक उपाधि जितिसकेका छन्। मुम्बई इन्डियन्स भारतीय धनाढ्य मुकेश अम्बानीको टोली हो। १०औं संस्करणको विजेता मुम्बईले अघिल्लो संस्करणमा भने सशक्त प्रदर्शन गर्न सकेन। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पाँचौं स्थानमा खुम्चिएको थियो। यसपटक आईपीएल जित्न मुम्बईले विशेष तयारी थालेको छ। टोलीमा युवा र सिनियर खेलाडीको सम्मिश्रण तयार पारेको छ।

यसैगरी अर्को सफल टोली हो-चेन्नई सुपर किङ्स। स्पट फिक्सिङको आरोपमा दुई वर्ष प्रतिबन्धमा परेको चेन्नई र राजस्थान प्रतिबन्धमा परेपछि राजकोट र पुनेले खेल्ने अवसर पाएका थिए। पुणे राइजिङ सुपर जाइन्टर्स र गुजरात लायन्सले दुई संस्करण प्रतिस्पर्धा गरेका थिए।

आईपीएलका सर्वाधिक रन चेन्नई सुपर किङ्सका सुरेश रैनाले बनाएका छन्। उनले एक सय ७२ इनिङ्समा सो रन बनाएका हुन्। यस्तै रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली दोस्रो स्थानमा छन्। उनले अहिलेसम्म ४ हजार नौ सय ४८ रन बनाइसकेका छन्। यसैगरी सर्वाधिक विकेट लिने खेलाडीमा मुम्बई इन्डियन्सका लासिथ मालिंगा अग्रस्थानमा छन्। उनले एक सय ५४ विकेट लिएका छन्। मालिंगा अघिल्लो संस्करणमा भने खेलेका थिएनन्। उनीपछि दोस्रो स्थानमा दिल्ली क्यापिटल्सका अमित मि श्राले एक सय ४६ विकेट लिइसकेका छन्। तेस्रो स्थानमा रहेका कोलकाता नाइट राइडर्सका पीयूष चावलाले आफ्नो विकेट संख्या एक सय ४० पुर्‍याएका छन्।

आईपीएल इङ्ल्यान्डको चर्चित ‘प्रिमियर लिग’ र अमेरिकाको ‘एनबीए लिग’कै फम्र्याटमा सञ्चालन गरिएको छ। १३ सेप्टेम्बर २००७ मा बीसीसीआईले आईपीएलको घोषणा गरे पनि प्रतियोगिता भने २००८ को अप्रिलमा मात्र सुरु भएको थियो। सुरुमा आठ टोलीबीच प्रतिस्पर्धा भए पनि सन् २०१० मा दुई नयाँ टोलीलाई समावेश गरिएको थियो। पणने वारियर्स र कोची टस्करर्स केरलालाई समावेश गरिएको थियो। सन् २०१३ मा पुने वारियर्सले आईपीएल नखेल्ने निर्णय गर्‍यो।

अघिल्लो संस्करणको आईपीएल विजेता चेन्नई सुपर किङ्सले १५ करोड र उपविजेता सन राइजर्स हैदराबादले १० करोड भारु पुरस्कार पाएका थिए। अहिले चेन्नई सुपर किङ्सको ब्रान्ड भ्यालु ६५ मिलियन डलर छ। यस्तै कोलकाताको ६२ र हैदराबादको ५४ मिलियन डलर ब्रान्ड भ्यालु छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.