सर्लाहीमा ५ किलो गाँजासहित दुईजना पक्राउ
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर चोकबाट दुईजना गाँजासहित पक्राउ परेका छन् ।
प्रहरीले हरिवन नगरपालिका–९ का २० वर्षीय सन्तोष धमला र वाडा नम्बर ४ का ३८ वर्षीय कृष्ण घलानलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार हरिवनबाट उनीहरु लागुऔषध गाँजा बोकेर बा ६१ प ३६२३ नम्बरको मोटरसाइकलमा नवलपुरतर्फ आउँदै थिए ।
चेकजाँच गर्ने क्रममा धमला र घलानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक किरण न्योपानेले बताए । उनीहरुले मोटरसाइकलको बीचमा रातो कपडाको हाते झोलामा निलो प्लाष्टिकमा साढे ५ किलो गाँजा राखेर ढुवानी गरिरहेको प्रहरी निरीक्षक न्योपानेले बताए ।
पक्राउ परेका दुबैजनालाई लागुऔषध ओसार पसार र बेचबिखन मुद्दा चलाउँदै कारावही बढाइने प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए । प्रहरीले दुई दिनअघि पनि लालबन्दी–२ बाट एकजनालाई ५ किलो गाँजा सहित पक्राउ गरेको थियो ।