सबै कुसंस्कार अन्त्य गर्ने बडिगाड गाउँपालिकाको प्रतिवद्धता
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाका बासिन्दाले अब कुरिति, कुसंस्कार अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गाउँपालिकाले सामाजिक विकृति तथा कुरितिका बिरुद्ध अभियान सुरु गरेसँगै सार्वजनिक रुपमा यहाँका अगुवाहरुले यस्तो प्रतिवद्धता गरेका हुन् । विद्यमान बिकृति तथा कुसंस्कार अन्त्यका लागि गाउँपालिकाको पहलमा स्थानीय नागरिकसँग अन्र्तक्रिया गरी २८ बुँदे सामुहिक प्रतिवद्धता समेत सार्वजनिक भएको छ ।
गाउँपालिकामा महिला तथा घरेलु हिंसा, दाइजो प्रथा, बोक्सी आरोप, बहुविवाह, जातीय भेद्भाव जस्ता कुसंस्कार र कानुन विपरित गतिविधि नगर्ने उनीहरुले प्रतिवद्धता गरे ।
त्यसो त कानुन विपरित गतिविधि कसैले गरेको पाइए तत्कालै उजुरी दिने पनि स्थानीयले बताएका छन् । यस्तै गाउँलेले जुवातास नियन्त्रण, परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यबोध गर्ने, महिला–पुरुष बीच असमान ज्याला अन्त्य गर्ने पनि प्रतिवद्धता गरेका छन् ।
वन, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, परम्परागत पुरातन सोच व्यवहारमा परिवर्तन, बालबालिकाको शैक्षिक हक सुनिश्चित गर्ने लगायत कुरामा पनि उनीहरु संवेदनशील भएर काम गर्ने प्रतिवद्धता गरे । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने गाउँपालिकामा थालिएको यस्तो अभियानले सचेतना फैलिने अपेक्षा गरेका छन् ।