रोजगार संयोजकमा ९ भन्दा बढी आवेदन
काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय तहमा रिक्त रहेको रोजगार संयोजकका लागि ९ हजार भन्दा बढी आवेदन परेको छ ।
दुई सय ३२ रोजगार संयोजकका लागि फागुन ३० देखि आवेदन खुलेकोमा आज शनिबारसम्म नौ हजार आठ सय ७४ जनाको आवेदन परेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रकाशित गरेको दरखास्तमा योग्य उम्मेदवार छनोट नभएको भन्दै फेरि आवेदन खुलाइएको हो ।
सरकारले छनोट गरेका पाँच सय २१ जना उम्मेदवारले कार्यक्षेत्रमा खटिएर बेरोजगार युवाको फारम संकलन सुरु गरेको श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
मन्त्रालयका अनुसार रोजगार संयोजकका लागि प्रदेश १ मा एक हजार तीन सय ८७, अधिकृत, आठ सय ७२ नासु, प्रदेश २ मा एक हजार चार सय २२, प्रदेश ३ मा एक हजार छ सय २० अधिकृत, पाँच सय नासुका लागि उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशमा चार सय ७८ अधिकृत, एक सय ५४ नासु, कर्णाली प्रदेशमा एक हजार एक सय ३५ नासु र सात सय ६२ अधिकृत, सुदूरपश्चिमाञ्चल प्रदेशमा एक हजार तीन सय दुई अधिकृत र दुई सय ४२ नासुको उम्मेदवारी परेको छ ।
तोकिएका मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट उम्मेदवार छनोट गरिने सहसचिव दाहालले जानकारी दिए । सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगार युवालाई कम्तीमा सय दिनको रोजगारी दिने घोषणा गरेको छ ।