खानेपानीको बिमा
जुम्ला : हिमा गाउँपालिका–३ को जोगीबाडा खानेपानी आयोजना र वडा नम्बर ७ को कुडु खानेपानी आयोजना बिमा गरिएको छ। जोगीबाडा आयोजना ५२ लाख ३० हजार तथा कुडु ५५ लाख २२ हजारको लागतमा निर्माण भएका हुन्। जोगीबाडा गाउँका ८२ र कुडुका ७४ घरधुरीलाई समेट्ने गरी दुई खानेपानी आयोजना निर्माण गरिएको छ। यी दुवै गाउँ एक घर एक धाराको पहुँजमा पुग्ने कर्णालीकै नमुना गाउँ हुन्।
सुवास परियोजनाअन्तर्गत वाटरएड नेपालको सहयोग तथा किर्डाक नेपाल र हिमा गाउँपालिकाको साझेदारीमा ती खानेपानी आयोजना निर्माण गरिएका हुन्। किर्डाकले दुवै आयोजनाको वार्षिक बिमा किस्ता रकम शिखर इन्स्योरेन्स कम्पनीलाई बुझाउँछ। एउटा आयोजनाको वार्षिक ११ हजार बिमा रकम कम्पनीलाई बुझाउनुपर्छ।
स्थानीयले पानीको मासिक महसुल तिरेबापत मर्मत–सम्भार कोषमा जम्मा भएको रकमबाट वार्षिक किस्ता बिमा कम्पनीलाई बुझाइने कुडु खानेपानी उपभोक्ता समितिका अध्यक्ष काले बुढाले बताए। खानेपानी आयोजना अवरुद्ध भए बिमा कम्पनीले मर्मत–सम्भार गर्छ।
‘खोला र कुवाको दूषित पानी खानुपर्ने बाध्यता एक घर एक धाराले छुटाएको छ। यसले हाम्रो दैनिकी तथा सरसफाइ निकै सुधार भएको छ’, कुडु गाउँकी कौशिला न्यौपानेले भनिन्, ‘बाढी–पहिरो, भूक्षय तथा भूकम्पका कारण हामी खानेपानी गुमाउन चाहन्नौं, त्यसैले दैलोमा आएको सुखलाई निरन्तरता दिन मिलेर पानीको बिमा गरेका हौं।’
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले तीन वर्षभित्र गाउँपालिका एक घर एक धारा तथा स्वच्छ खानेपानीको पहुँजमा पुग्ने बताए।
‘नमुनाका रूपमा दुई गाउँबाट यो अभियान सुरु भएको छ, विस्तारै सबै गाउँमा लागू हुनेछ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट विनियोजनदेखि साझेदारी निकायसँग समन्वय गर्ने काम जारी हुनेछ।’ जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीसहितको टोलीले दुवै खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेको छ। उनले भने, ‘स्थानीयले पानीको बिमा गर्नु सराहनीय काम हो।’
खानेपानी आयोजना पुगेका दुबै गाउँका सबै घरमा फोहोर फाल्ने खाल्डो, भाँडा सुकाउने चाङ, शौचालय निर्माण गरिएको छ। खानेपानी डिभिजन कार्यालयका इन्जिनियर महेशकुमार शर्माले पानीको उचित प्रयोगबाट व्यावसायिक कृषि खेती गरी आम्दानी बढाउन गाउँलेलाई सुझाव दिए।