उर्जामन्त्रीद्वारा माथिल्लो तामाकोशी निरीक्षण
चरिकोट : उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन्। विगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य अनुगमनका लागि आएका थिए।
जिल्ला प्रहरी, सेना र प्रशासनलाई समेत जानकारी नदिई आयोजना स्थल पुगेका मन्त्री पुनले दिनभर बाँधस्थल, भर्टिकल साफ्ट, पेनस्टक पाइप जडान क्षेत्र, भूमिगत पावरहाउस लगायतको निरीक्षण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए। निरीक्षणमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि थिए।
विभिन्न कारणले आयोजना सम्पन्न हुन ढिलो भइरहेका बेला आयोजनाले २०७६ कात्तिकसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजना स्थलको भ्रमणपछि मन्त्री पुन लगायतको टोलीलाई आयोजनका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले समग्र प्रगति र कार्यतालिकाबारे जानकारी गराए।
पुनले आयोजनाको समग्र प्रगति देखेर आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए। उनले आयोजनाको संशोधित कार्यतालिका अनुसार २०७६ कात्तिकअगावै विद्युत् उत्पादन गर्ने गरी काम सम्पन्न गर्न आयोजनासम्वद्ध अधिकारी र ठेकेदारलाई निर्देशन दिए। घिसिङले प्राधिकरण र समग्र नेपालीको भविष्य जोडिएको आयोजना समयमै सम्पन्न गर्न हरदम तयार रहेको बताए। आयोजनाको भौतिक प्रगति ९७ दशमलब ९ प्रतिशत भएको छ।