जुत्ता मेलामा ग्राहकको आकर्षण
काठमाडौं : तनहुँका द्वारिका श्रेष्ठ तथा जयन्ती श्रेष्ठ नाति लिएर भृकुटीमण्डपमा जारी मेलामा जुत्ता किन्न पुगे। सस्तो मुल्यमा बलियो जुत्ता भेटिने भएकाले मेलामा खरिद गर्न आएको श्रेष्ठ दम्पत्ति बताउँछन्। ‘बाहिरको पसलभन्दा मेलामा सस्तोमा जुत्ता पाइन्छ।
उत्पादनको प्रवद्र्धन गर्न मेला गर्ने भएकाले व्यवसायीले सस्तो मुल्यमा बिक्री गर्छन्’, जयन्तीले भनिन्, ‘मेलामा ठगिने समस्या हुँदैन।’ उनले चार वर्षदेखि मेला स्थलबाट मात्रै जुत्ता खरिद गर्दै आएको बताइन्। काठमाडौंमा बस्ने छोरालाई भेट्न आउँदा उनीहरूले चितवनमा बस्ने नातिनातिका लागि पनि जुत्ता खरिद गर्ने गरेको जानकारी दिए।
कीर्तिपुर बस्ने अविरल कार्की बार्गेनिङको झन्झटबाट बच्न मेलामा जुत्ता किन्न आएको बताउँछन्। ‘बाहिरको पसलले धेरै मुल्य भन्छन्। मलाई बार्गेनिङ गर्न आउँदैन’, कार्कीले भने, ‘फिक्स रेट हुने भएकाले सकेसम्म मेलाबाटै आवश्यक सरसामान खरिद गर्दै आएको छु।’ चैत १ देखि भुकुटीमण्डपमा ‘नेपाली जुत्ता चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नारासहित महासेल महाकुम्भ जुत्तामेला आयोजना गरिएको आयोजकको भनाइ छ। मेलामा नेपाली जुत्ता ब्रान्ड केटीएम, भेनस, फट स्टेप, पीजी, बोस र राइट सुजका जुत्ता तथा चप्पल बिक्री तथा वितरणका लागि राखिएका छन्।
केटीएम सुजका प्रबन्धक निर्देशक प्रमोद महतका अनुसार मेलामा ग्राहकको उत्साहजनक उपस्थिति छ। सस्तो र बलियो उत्पादन सिधै ग्राहकसम्म पुर्याउन मेला आयोजना गरिएको उनको भनाइ छ। ‘बाहिरभन्दा यहाँ ५० प्रतिशत सस्तोमा जुत्ता खरिद गर्न सकिन्छ। उद्योगबाट उत्पादन भएको जुत्ता सिधै मेलामा बिक्री गर्ने गरिन्छ। चेन अफ प्रोफिट यहाँ हुँदैन’, उनले भने, ‘रिटेलर, होलसेल र एजेन्टको कमिसन यहाँ जोडिँदैन।’ त्यसैले पनि बाहिरभन्दा मेलाको जुत्ता सस्तो हुन्छ। मेलामा एक हजारभन्दा धेरै प्रकारका जुत्ता तथा चप्पल बिक्रीमा राखिएको छ। मेलाकै लागि भनेर विभिन्न उद्योगले ३५ भन्दा धेरै नयाँ डिजाइनका उत्पादन पनि सार्वजनिक गरेका छन्।
मेलामा चप्पल दुई सय रुपैयाँदेखि एक हजार रुपैयाँ र जुत्ता सात सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मका छन्। मेलामा खरिद गरिने जुत्ताचप्पलमा एक हजारभन्दा माथिकोमा एक वर्ष र त्योभन्दा सस्तोमा ६ महिनाको ग्यारेन्टी छ। ‘सस्तो मुल्यमा किफायती जुत्ता बिक्री गर्न मेला आयोजना गरिएको हो। विगतका मेलामा पुरानो जुत्ताको स्टक बेच्न मेलाको सहयोग दिने जनगुनासो पनि छ’, उनले भने, ‘यो मेलाले त्यो भ्रम चिर्नेछ। यहाँ एउटा पनि कमसल सामान राखिएको छैन।’ मेला चैतको अन्तिम सातासम्म सञ्चालन हुनेछ।