पत्ता लागेन सपना भुजेलको हत्यारा

पत्ता लागेन सपना भुजेलको हत्यारा

इटहरी : तीन वर्षअघि फागुन २० गते इटहरीको बूढीखोला किनारमा इटहरी–३ की १३ वर्षीया सपना भुजेल मृत फेला परिन्। घाँटीमा प्रेसर परेको भनेर पोस्टमार्टम रिपोर्टसमेत आयो। तर, उनलाई कसले र किन मार्‍यो रहस्यको विषय बनेको छ।

आमा, भाइ र दिदीसँग बस्दै आएकी सपना अघिल्लो दिन साँझ घरमा खाना बसाएर हिँडेकी थिइन्। कसैलाई केही नभनी हिँडेकी सपनाको शव भोलिपल्ट बिहान खोलामा बालुवा बोक्ने मजदुरले भेटेका थिए। ‘अघिपछि पनि गाउँमा बेलुका टीभी हेर्न जान्थी, कहिले गाउँमै सुत्थी,’ आमा राधा भुजेलले भनिन्, ‘त्यसदिन पनि त्यस्तै होला भन्ने सोचेर वास्ता गरिनँ, बिहान गाउँलेले खबर ल्याउँदा पो झसंग भएँ।’

तालतलैया छेउमा रहेको ‘याद घर बेम्बो कटेज’ नामक होटलमा राधा भाँडा माझ्थिन्। काम गर्दै गर्दा उनलाई होटल सञ्चालक आरपी भट्टराईले सुन चोरी गरेको आरोप लगाएर प्रहरीमा अनुसन्धानका लागि निवेदन दिएका थिए। राधा सोही सिलसिलामा इटहरी–३ मै रहेको प्रहरी चौकी धाउँदै थिइन्। यस्तो आरोप लागेको केही दिनमै सपना बेलुका घरबाट बेपत्ता भइन्। भोलिपल्ट उनको शव खोलाकिनारमा भेटियो।

छोरीको मृत्युको रहस्य फेरि पत्ता लाग्ला भन्ने आसमा राधा छैनन्। ‘यत्रो समय त पत्ता लगाएन, अब झन् के पत्ता लगाउला ? ’ तैपनि, उनी छोरीको हत्यारा पत्ता लगाएर कारबाही माग गर्छिन्। भन्छिन्, ‘कुकुर मराइ भयो छोरीको, केही पत्ता लागेन।’ उनको शंका उनलाई सुन चोरी गरेको आरोप लगाउने परिवारमाथि छ। ‘उनीहरू धनी मान्छे, पैसा खुवाएकाले दोषी देखिएन, उल्टो प्रहरीले मैमाथि पो शंका गर्‍यो,’ राधाले भनिन्।

तत्कालीन प्रहरी नेतृत्वले हत्याको राम्रै अनुसन्धान गरेको देखिएको इलाका प्रहरी कार्यालयका सई युवराज कार्कीले बताए। ‘मिसिल हेर्दा राम्रै अनुसन्धान भएको देखिन्छ,’ उनले भने, ‘तर अपराधी पत्ता नलाग्नुचाहिँ रहस्यकै कुरा हो।’

पछिल्लो समय कार्यालयले सपनाको अनुसन्धान फेरि सुरु गरेको छ। केही महिनाअघि खनारमा भएको एक हत्याको अनुसन्धानमा इटहरी प्रहरीले सफलता पाएको थियो। मृत्यु भनिएको घटनामा मृतककी श्रीमतीको हात रहेको पत्ता लागेको थियो। सपनाको विषयमा पनि त्यस्तै सफलता प्राप्त हुने आशा गरिएको छ।

दयनीय आर्थिक अवस्था

सपनाको परिवारको आर्थिक अवस्था दयनीय छ। आमा राधासहित चार जनाको परिवार सानो चर्केको घरमा बस्छ। राधाका श्रीमान्को मृत्यु भएको निकै भएको थियो। श्रीमान्की दिदी पनि उनीहरूसँगै बस्छिन्, जो मानसिक समस्यामा छिन्। सपनाकी दिदी कौशिलाको मानसिक स्थिति पनि त्यति ठीक छैन।

कान्छो छोरो कौशल बालकेन्द्र जान्छन्, बाँकीले पढ्न सकेका छैनन्। सपनाले अक्षरसम्म चिनिन्। आमा राधाको एक्लो प्रयासले चार जनाको परिवार पालिएको छ। पहिला सपनाले पनि भेडेटारको होटलमा एक वर्ष काम गरेर कमाएर सहयोग गरेकी थिइन्, अहिले आमा एक्लै कमाउँछिन्। ‘जंगलबाट दाउरा ओसार्ने काम गरेर खान्छु, पहिला भाँडा माझ्थेँ,’ उनी भन्छिन्, ‘मीठो खानुपर्‍यो भने किन्न सकिँदैन, मासु खानुपर्दा उब्रियो भने दिनु है भन्छु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.