बरदान बन्यो बयलपाटा अस्पताल
अछाम : नौ वर्षको उमेरमा बायाँ खुट्टा भाँचिएर थला परेका डोटीको दिपायल–सिलगढी नगरपालिका–४ का ३५ वर्षीया गणेश विकको मुहारमा बल्ल खुसी छाएको छ। २६ वर्षअघि बायाँ खुट्टा भाँचिएका विकको अछामको बयलपाटा अस्पतालमा निःशुल्क उपचार भएकाले उनको मुहारमा चमक छाएको हो। ‘त्यसबेला जसोतसो भारतमा गएर उपचार गरें तर निको भएन। अहिले थला परिसकेको थिएँ’, उनले भने, ‘दुखाइ सहन नसकेपछि बयलपाटा आएको हुँ। उपचार पाउँदा खुसी लागेको छ।’
बयलपाटा अस्पतालमा हाडजोर्नीसम्बन्धी राम्रो उपचार हुन्छ भनेर सुनेका उनी श्रीमती र आफन्तसँग बयलपाटा पुगेका हुन्। फागुन १० गते अस्पताल भर्ना भएका उनको खुट्टाको दुई पटक शल्यक्रिया भएको छ। ‘खुट्टा भाँचिएको २६ बर्ष भयो। २/३ पटक भारतमा गएर उपचार गरें तर निको भएन। अहिले निशुल्क उपचार पाएको छु’, विकले भने, ‘अब निको हुने आशा गरेको छु।’
कालिकोटको सान्नी त्रिबेणी गाउँपालिका–४ की रामजीरा शाहीको चार छोरीपछि एक छोरा जन्मियो। घरका सबै खुशी थिए। तर छोराको दुबै खुट्टा बाङ्गो देखियो। छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेका उनी पनि बयलपाटा अस्पतालमको हाडजोर्नीसम्बन्धी सेवा बारे थाहा पाएर त्यहीँ पुगे। ‘उपचारपछि केहि सुधार भएको छ, निशुल्क उपचार, निशुल्क खान बस्न पाएका छौं। यहाँ सबै कुरा निशुल्क पाएका छौं’, रामजीराले भनिन्।
दिपायल–सिलगढी नगरपालिका–१ की कृष्णा बिष्टको ५ बर्षअघि लडेर दाहिने खुट्टाभाचिएको थियो। धनगढी गएर उनले उपचार गरिन्। करीब एक लाख रुपैयाँ खर्च भयो तर निको भएन। पछि आफन्तको सहयोगमा बयलपाटा अस्पताल पुगेपछि उनको पनि उपचार भइरहेको छ। ५ बर्षसम्म पनि उनको हड्डी नजोडिएपछि भाँचिएको ठाउँमा हड्डी प्रत्यारोपण गरिएको छ। कृष्णाको शरीरको अन्य भागको हड्डी निकालेर खुट्टामा प्रत्यारोपण गरिएको हाडजोर्नी बिशेषज्ञ डा. मन्दिप पाठकले जानकारी दिए। ‘यहाँ दैनिक सरदर ३५ जनासम्म हड्डी भाँचिएका बिरामी आउँछन्। कसैको शल्यक्रिया त कसैको सामान्य उपचार गरिरहेका छौं’, डा. पाठकले भने।
यी तीन जना विरामीमात्रै होईन, दुर्गम गाउँका विपन्न परिवारका लागि बयलपाटा अस्पताल बरदान साबित भएको छ। यस अस्पतालमा हाड्जोर्नीसम्बन्धी सेवा सुरु भएको ३ बर्ष भयो। यो अवधिमा २ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्। एक दशकअघि स्थापना भएको बयलपाटा अस्पतालले भर्ना शुल्क नलिने, बेड भर्ना भएका बिरामीलाई खाना तथा आवास समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
साँफेबगरदेखि १२ किलोमिटरको दूरीमा जिल्ला सदरमुकाम मंगलसेन जाने बाटोमा रहेको बयलपाटामा दैनिक ४ सयभन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशाषनले जनाएको छ। एक दशकअघिसम्म एकजना एमबीबीएस चिकिसक पनि भेट्न गाह्रो हुने अछाममा, अहिले बयलपाटा अस्पतालमा मात्रै करिब ४ जना बिशेषज्ञ र ७ जना मेडिकल अधिकृत गरि ११ जना चिकित्सक कार्यरत छन्।