हलो जोतेरै स्कुल पढेँ
मैले धेरै थरीका पात्रको भूमिकामा अभिनय गरेको छु। तर धेरैले ‘धुर्मुस’ भनेर चिन्ने गरेका छन्। भाइबहिनी हो, मैले गरेको अभिनय हेरेर तिमीहरूको मनमा यो त घरमा जे पनि काम बिगार्ने, अरूलाई दुःख दिने खालको छ होला भनेर सोच्छौ होला। तर म अत्यन्तै शान्त स्वभावको छु।
म बाल्यकालमा रुन्चे थिएँ। सबैसँग डराउने, कोहीसँग बोल्न नसक्ने र डरपोक थिएँ। त्यसो त दुःख प¥यो भने अहिले पनि एक्लै बसेर रुन्छु। आफ्नो कारण कसैलाई दुःखी बनाउन चाहन्नँ।
म सोलुखुम्बुको नेचावेद घारी भन्ने विकट गाउँमा जन्मेको हँु। मेरा चारजना भाइबहिनी छन्। घरको जेठो छोरो हुँ। हाम्रो परिवार गरिब थियो। चामलको भात खान दसैं कुर्नपर्ने अवस्था थियो। बुवाले छोराछोरीलाई चामलको भात खुवाउँछु भनेर गाउँको जग्गा बेची तराईमा दुई बिघा जग्गा किन्नुभयो। हामी झापाको गौरादहमा २०४८ सालमा बसाइँ स¥यौं।
खेती किसानीको कामले नियमित स्कुल जान पाइँदैनथ्यो। मैले ७ कक्षा पढ्दा नै हलो जोत्न जानिसकेको थिएँ। हरेक दिन ५ बजे उठेर खेत जोत्नु मेरो दैनिकी थियो। १० कक्षासम्म बिहान सधंै हलो जोतेर स्कुल जान्थेँ।
एकपल्ट स्कुलमा गीत गाउनुपर्ने भयो। सबैका अगाडि गएर गीत गाउनु मेरो लागि मर्नु बराबर थियो। पसिनैपसिना भएर जसोतसो गीत गाएँ तर घर जाँदा रुँदै गएँ। घर पुगेर पनि ढोका थुनेर रातभर रोएँ। पछि साथीहरू, बुवाआमा र स्कुलका गुरुहरूले पनि सम्झाए।
गीत गाएर रोएको घटनापछि भने स्कुलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थालेँ। टीभीमा ‘देवी’ सिरियल आउँथ्यो त्यो बेला। हाम्रो घरमा टीभी थिएन। छिमेकीको घरमा गएर पनि त्यो सिरियल हेर्थें। मलाई शिवहरि पौड्यालको अभिनय निकै मन पथ्र्यो। आफू पनि विभिन्न चरित्रको क्यारिकेचर गर्थें। गुरुहरूको हुबहु क्यारिकेचर गर्न सक्थेँ। चित्र पनि राम्रो बनाउँथेँ। भविष्यमा चित्र बनाएर पैसा कमाउँछु र घरको ऋण तिर्छु भन्ने सोच्थेँ।
एसएलसी फस्ट डिभिजनमा पास भएपछि म काठमाडौंमा पढ्छु भनेर जिद्दी गरेँ। बुवाले ऋण काढेर १७ सय रुपैयाँ जुटाइदिनुभयो। दुर्भाग्य भनौं, काठमाडौं आएकै दिन दरबार हत्याकाण्ड भएको थियो। कलंकीबाट हिँडेर कोटेश्वर पुगियो।
अर्को दिन अनामनगर बस्ने गाउँकै सिनियर दाइ भेटिए। उनले १३ सय रुपैयाँ पर्ने कोठा खोजिदिए। काठमाडौं छिरेपछि अनेक हन्डर र ठक्कर खाइयो। भाँडा बेच्ने कामदेखि मार्केटिङ गर्दैसमेत हिँडियो।
अभिनयको भूत सवार थियो मभित्र। त्यसैले कहिले आर्ट सेन्टर त कहिले चिनेका कलाकारको कार्यालय धाइरहन्थेँ। रत्नराज्य कलेजमा मेजर इङ्लिस र पत्रकारिता विषय पढ्दै, काम खोज्दै पनि थिएँ। एक दिन बाटोमा खेम शर्मा चतुरेसँग भेट भयो। उनले थापाथलीमा सात सय पर्ने कोठा खोजिदिए। कोठा भाडा ६ सय रुपैयाँ जोगिँदा म दंग परे। उनकै माध्यमबाट पहिलोपटक ‘झमेला’ टेली सिरियलमा काम गर्ने मौका पाइयो। त्यो सिरियलमा नेतालाई स्यालुट गर्ने पुलिसको रोल थियो। मेरो पहिलो अभिनय नै त्यही थियो।
केही समयपछि ‘गीताञ्जलि’ टेलिसिरियलमा स्क्रिप्ट लेख्ने काम गरियो। चिनजान बढ्दै गयो। अनि त ‘जिरे खुर्सानी’, ‘तीतो सत्य’, ‘मेरी बास्सै’ लगायतका टीभी कार्यक्रममा व्यस्त भइयो। भाइबहिनी हो, तिमीहरूसँग पनि कुनै न कुनै आन्तरिक क्षमता अवश्य होला। आफ्नो क्षमता अगाडि बढाउन कोसिस गर्नुपर्छ। कर्ममा विश्वास गर्नुपर्छ।
प्राकृतिक, सांस्कृतिक, भाषिकलगायत धेरै हिसाबले नेपाल धनी छ। तर पनि विकसित राष्ट्र बन्न सकेको छैन। विभिन्न कार्यक्रमका लागि विदेश जाँदा त्यहाँको विकासको स्वरूप देखेर मन रुन्थ्यो। केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैबीच सरकारले कुञ्जना र मलाई २०७१ सालमा ‘सरसफाइ दूत’ नियुक्त ग¥यो। छोरी आठ महिनाकी मात्र थिइन्। यो जिम्मेवारी पाएपछि धेरै जिल्लामा कार्यक्रम गर्दै हिँडियो। सडकपेटी, बाटोघाटो सफा बनाउँदै चर्पीका बारेमा सचेतना फैलाउँदै नेपालका धेरै ठाउँमा पुगियो।
अचानक २०७२ साल वैशाख १२ मा भूकम्प गएपछि हामीलाई अभिनय मात्रै गरेर हुन्न भन्ने लाग्यो। त्यो बेला हामी अमेरिकामा थियौं। भूकम्पले पूरै भत्किएको काठमाडौं लगायतका सहर अनि गाउँहरू देखेर हाम्रो मन अत्यन्त रोएको थियो। त्यही बेला देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले चन्दा नै उठाएर भए पनि विकासका काम गर्ने योजना बनायौं। यसमा मलाई मेरी श्रीमती कुञ्जना घिमिरेले निकै सहयोग गरिन्।
भूकम्पले हामीलाई नगरी नहुने चुनौती थपिदियो। आँट गरेपछि सम्भव छ भन्ने लाग्यो। समाजसेवाको बाटो नै यस्तै रहेछ। एउटा काम गरेपछि अर्को पनि सुरु गरौं भन्ने लाग्दो रहेछ। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान अघि बढाएका छौं। योभन्दा अघि गिरानचौर एकीकृत नमुना बस्तीलगायत चारवटा ठाउँको निर्माण सम्पन्न गरिसक्यौं। अहिले त्यहाँका जनताले सजिलोसँग जीवन बिताएको देख्दा अत्यन्तै खुसी लाग्छ।
भाइबहिनी हो, आँट्यो भने जे पनि गर्न सकिन्छ। हामीले आफू जन्मेको गाउँ, टोल र समाजका लागि पनि केही गर्न खोज्नुपर्छ। गिरानचौर बस्ती बनाउँदा होस् या बाढीले सखाप सन्तपुर बस्ती बनाउँदा, हामीले अनेक हन्डर र अप्ठ्यारो भोगेका छौं। बनाउँदा बनाउँदै पैसा नपुगेर आफ्नै घर बेच्नुपर्ने अवस्थासमेत आएको थियो। तर, हामीले काम रोकेनौं। मन भएकासँग निरन्तर सहयोग माग्यौं। छोटो समयमा पूरा पनि ग¥यौं। पढ्ने कुरामा होस् या अन्य काम गर्ने मामिलामा, अप्ठ्यारो स्थिति आउन सक्छ तर कहिल्यै आत्तिनु हुँदैन।
हरेकसँग केही न केही आन्तरिक क्षमता हुन्छ। स्कुलमा मैले रोएरै भए पनि गीत गाउन सुरु गरेपछि मात्रै मेरो क्यारिकेचर गर्ने सीप देखिएको हो। नाटक सिक्न भनेर रातिराति घरबाट भागेर हिँड्थेँ। अहिले त्यस्तो अवस्था छैन। गाउँ, समाज र परिवारमा पनि विस्तारै बुझ्ने व्यक्तिहरू बढ्दै छन्। क्षमता प्रदर्शन गरेर अगाडि बढ्न पनि सजिलो छ। आफूलाई अगाडि बढाउन र क्षमता बिस्तार गर्न कोसिस गर्नुपर्छ। निरन्तर लागिपरेमा जस्तोसुकै काम पनि सम्भव हुन्छ।
(कलाकार कट्टेलसँग अजवी पौड्यालले गरेको कुराकानीमा आधारित)