दुई महिनामा खुल्यो माथिल्लो मनाङ सडक
बेंसीसहर : हिमपातले अवरुद्ध माथिल्लो मनाङको सडक दुई महिनापछि सूचारु भएको छ। दुई साताअघि बेसीसहरदेखि चामेसम्मको सडक खुलाइएको थियो। शनिबारदेखि सदरमुकाम चामेदेखि माथिल्लो मनाङको सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।
भारी हिमपातका कारण गत माघ ९ गतेबाट सडक बन्द भएको थियो। मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका छिरिङ गुरुङका अनुसार सडक खुलेसँगै स्थानीयवासिन्दा गाउँ फर्किन थालेका छन्। 'गर्मी पनि बढ्दैछ। हिउँ पन्छाएर सडक खुलेको छ। जाडो छल्न बेंसी झरेकाहरु विस्तारै गाउँ आउँदैछन्', उनले भने। पैदल मार्ग भने एकसाता अघि खुलाइएको उनले बताए।
हिमपातका कारण नासों गाउँपालिका- ९ दानाक्युदेखि चामेसम्म बन्द भएको सडक गएको हप्ता खुलेको थियो। चामेसम्म सडक खुलेको १२ दिनमा माथिल्लो मनाङको खाङसारसम्म बाटो खुलेको हो। मनाङ गाउँसम्म भने बिहीबार बाटो खुलेको हो।
शनिबारदेखि सवारी साधन चल्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताए। उनले अन्नपूर्ण पदमार्ग पनि सूचारु भएको बताए। पदमार्ग सूचारु भएसँगै थोराङ्ला पास गर्ने पर्यटक आउन थालेको उनले बताए।
चामेबाट माथिल्लो मनाङसम्म करीब ३१ किलोमिटर छ। माथिल्लो मनाङबाट खाङसार ८ किलोमिटर छ। सडकमा खसेको हिमपहिरो, ढुंगामाटो, रुखबोट, हिउँ हटाएपछि यातायात सूचारु भएको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए।
उनकाअनुसार बाटो खुलाउन मनाङबाट निर्वाचित जनप्रतिनिधि, यसअघि निर्वाचित नेताहरु लागिपरेका थिए। प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले आफ्नो एग्रो मनाङ प्रालिमार्फत डोजर उपलब्ध गराएर हिउँ पन्छाउन सहयोग गरेका थिए।
नेपाली कांगेसका नेता पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले पनि एक्साभेटर उपलब्ध गराएर हिउँ पन्छाउन सहयोग गरेका थिए ।प्रतिनिधिसभा सदस्य कर्म घलेले डोजर र एक्साभेटरमा डिजेल राख्न १ लाख रुपैयाँ दिएका थिए। मनाङ प्रदेश (ख) बाट निर्वाचित गण्डकी प्रदेशका सांसद दीपक मनाङे भनिने राजीव गुरुङले पनि सडक खुलाउन एक्साभेटरमा इन्धन खर्च गरेका थिए।
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले माथिल्लो मनाङ क्षेत्रमा २ महिनादेखि बन्द सडक खुलेको र पदमार्ग सहज भएको बताए। 'हामी निकै उकुसमुकुस भएर बाँचिरहेका थियौं। बाटो खुल्यो, सहज भयो,' उनले भने। उनकाअनुसार हिमपातका समय बेंसीसहरदेखि ४४ किलोमिटरको दानाक्युसम्ममात्रै मोटर चलेको थियो।