भारतीय आइसीपीमा आगलागी हुँदा वीरगन्ज नाका ३ घण्टा प्रभावित
वीरगन्ज : वीरगन्जस्थित एकीकृत जाँच चौकी(आईसीपी) आइतबार तीन घण्टा प्रभावित भएको छ।वीरगन्जको आइसीपीसँग जोडिएको भारत रक्सौल तर्फको आइसीपीमा आइतबार दिउँसो भीषण आगलागी हुँदा आइसीपी नाका हुँदै मालसामानको आयात निर्यात करिब तीन घण्टा अवरुद्ध भएको हो।
भारततर्फको आइसीपी परिसरमा आइतबार मध्यान्ह १२ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएपछि मात्र मालसामानको आयात निर्यात सूचारु भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले जानकारी दिए।
'भारत तर्फको आइसीपीमा आगो लागेपछि मालवाहक गाडीको ओहोर दोहोर रोकिएको थियो, उनले भने, 'तीन बजेतिर आगो नियन्त्रणमा आएपछि भने फेरि आयात निर्यात सहज रुपमा सूचारु भएको हो।'
नेपालको आइसीपीसँगै रहेको भारत तर्फको आइसीपीमा आइतबार मध्यान्ह १२ बजे लागेको भीषण आगलागी भएको थियो । नेपाल र भारतका गरी पाँचवटा वारुण यन्त्रको मदतमा अग्नि नियन्त्रक र दुवै देशका सुरक्षाकर्मीले अपरान्ह तीन बजे मात्रै निभाएका हुन्।
नेपाल तर्फको आइसीपीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीका अनु्सार , भारत तर्फको आइसीपीमा लागेको आगो निभाउन वीरगन्ज महानगरपालिकाको दुई र पोखरीया नगरपालिकाको एउटा गरी नेपालका दुईवटा वारुण यन्त्रको सहयोग लिएको थियो।
भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएका कारण आगलागीले आइसीपीमा भएको क्षतिको यकिन विवरण आएको छैन। आगलागीको यकिन कारण पनि खुल्न सकेको छैन।
भारतीय आइसीपी संचालनको जिम्मा पाएको ल्याण्ड पोर्ट अथोरिटी अफ इण्डिया (एलपीएआइ) का प्रमुख सौरभ श्रीवास्तवको मोबाइल फोन पनि स्वीच अफ रहेकाले आगोले भएको क्षतिको विवरण प्राप्त हुन नसकेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी महत्तोले बताए।
तर आगो निभाउन नेपाल तर्फबाट वारुणयन्त्र लिएर गएका सशस्त्र प्रहरी निरीक्षक अधिकारीका अनुसार आगलागीले आइसीपी परिसरमा रहेका बोट विरुवा, घाँसे मैदान, सीसीटीभी क्यामेरा, विद्युतका पोल , भूमीगत वाइरिङका तार जलेर खरानी भएका छन्।
आगोले आइसीपी परिसरमा रहेको सुरक्षाकर्मीको एउटा पोष्टमा पनि क्षति पुर्याएको छ। सशस्त्र प्रहरी निरीक्षक अधिकारीले आइसीपी परिसरमा रहेको घाँसे मैदान र झाडीबाट आगो सल्किएर आगलागी भएको हुन सक्ने बताए। तर यकिन कारण भने खुल्न सकेको छैन।
यसअघि पनि भारतीय आइसीपमा आगलागी भएको थियो। तर त्यस बेला रातिको समयमा आगलागी भएकाले बाहिर त्यो खबर नआएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए।