शिक्षा इकाई प्रमुखलाई मोसो
डोटी : एसईई सुरु भएकै दिन डोटीको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई मोसो दलिएको छ।
आइबार दिउँसो करिब डेढ बजेतिर एक समूहले पौड्यालको कार्यकक्षमै गएर मोसो दलेको हो। एसईईको अनुगमन गरी दिउँसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको समूहले मोसो दलेको हो। प्रत्यक्षदर्शीका अनुसार उनीहरु प्लाष्टिकको झिल्लीमा मोसो बोकेर आएका थिए।
पौड्याललाई मोसो लगाए लगत्तै नेविसंघले विज्ञप्ति निकालेर उनले शिक्षा क्षेत्रमा अनियमितता गरेको आरोप लगाएको छ।
विद्यालयका भवन र शौचालय निर्माणका योजना बाड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर दिएको, विद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षक नियुक्त गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाएर प्रश्नपत्र समेत आउट गर्ने गरेको नेविसंघको विज्ञप्तिमा उल्लेख छ।
नेविसंघ पूर्वआमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझालगयतले हस्ताक्षर गरेको विज्ञप्तिमा पौड्यालमाथि विभिन्न आरोप लगाइएको छ।
पौडेलले भने नेविसंघले लगाएका सबै आरोप झुट भएको बताएका छन्।