‘वाह यस्तो पो मुक्तक !’ सम्पन्न
काठमाडौं : `दियालो साहित्य सरगम´ ले "वाह यस्तो पो मुक्तक !" नाममा फरक किसिमको कार्यक्रम गर्यो। राजधानीभित्र र बाहिरका मुक्तककारलाई समावेश गरेर सांस्कृतिक संस्थानसँगको सहकार्यमा संस्थानकै प्रेक्षालयमा भएको कार्यक्रममा सात जना मुक्तककारले मुक्तक वाचन गरे।
मुक्तककारहरू शान्ति अधिकारी पोख्रेल, रेश्मा राना मगर, विर्खे अञ्जान, सिर्जना शर्मा, हरिकृष्ण काफ्ले, उदास कार्की र प्रकाश बस्नेत (गफाडी) ले मुक्तक वाचन गरे।
तीन चरणमा गरेर उनीहरूले १५/१५ वटा मुक्तक सुनाएका थिए। मायाप्रेम, वासना, प्रेममा हार, मानवीय नियति, सामाजिक विसंगति, परदेशीको पीडा, नारी समवेदना, राजनीतिक विसंगति, सामाजिक व्यङ्ग्य जस्ता विषयमा सुनाइएका मुक्तकले ३ घण्टासम्म प्रेक्षालय नै रमाञ्चित बनाएका थिए।
कार्यक्रमका समीक्षक प्रा. डा. भीम खतिवडाले शब्द हतियार र संरचना उधाउने ढुङ्गा भएको बताए। ‘मुक्तक विधा चार लाइनमा लेखिएको महासागर भएको सुनेको थिएँ तर आजका सात जना मुक्तककारले प्रष्ट पारिदिए’, उनले मुक्तककारको प्रशंशा गरे।
प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले कार्यक्रममा सुनाइएका मुक्तक साँच्चिकै मुक्तक भन्न लाएक रहेको भन्दै प्रशंशा गरे। सर्जककहरूलाई आयोजकले प्रमाणपत्र र नगद पनि प्रदान गर्यो।