महिला उद्यमीको छुट्टै औद्योगिक पार्क
काठमाडौं : काभ्रेको पाँचखालमा महिला उद्यमीका लागि छुट्टै औद्योगिक पार्क निर्माण हुने भएको छ। हरित औद्योगिक पार्क नाम दिइएको यो पार्कमा सबै महिला उद्यमीका उद्योग स्थापना हुनेछन्। यो पार्क दक्षिण एसियाली महिला विकास मञ्च (साउथ एसियन वुमन डेभलपमेन्ट फोरम) ले विकास गर्न लागेको हो।
उद्योगका लागि पाँचखाल नगरपालिकाले एक सय ५७ रोपनी जग्गा छुट्याइसकेको छ। नगरपालिकाका मेयर महेश खरेलको पहलमा देशमै पहिलोपटक महिला उद्यमीका लागि स्थापना गरिने हरित औद्योगिक पार्क पाँचखालमा स्थापना हुन लागेको दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले जानकारी दिइन्।
‘औद्योगिक पार्कमा सबै उद्योग ग्रिनफिल्ड इन्भेस्टमेन्टका हुनेछन्,’ उनले भनिन्, ‘कृषि जैविक प्रविधि, प्राकृतिक फाइबर, प्याकेजिङ, खाद्य प्रशोधन, वनस्पतिमा आधारित क्रियाकलाप, चाँडै गल्ने कृषि वस्तुको आयु बढाउने सम्बन्धी प्रविधिमा आधारित उद्योगका लागि भारत सरकारले प्राविधिक सहयोग दिने भएको छ।’ यहाँ स्थापना हुने उद्योग तथा उत्पादित वस्तुबीचको अन्तरसम्बन्ध बढाएर त्यसबाट प्राप्त हुने लाभ बढाउन पहल गर्ने उनले बताइन्।
दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष रिजालको नेतृत्वको २४ सदस्यीय प्रतिनिधिमण्डलले हालै नयाँदिल्लीस्थित सोनीपतमा अवस्थित राष्ट्रिय खाद्य प्रद्योगिकी उद्यमशीलता तथा प्रबन्धन संस्थानको भ्रमण गरी त्यहाँको प्रविधि र सुविधा अवलोकन गरेको छ। उत्पादन विकासका लागि उक्त संस्थानलाई लप्सी, अलैंची तथा डल्ले खुर्सानी हस्तान्तरण गरिएको छ। प्रतिनिधिमण्डलले जैविक प्रविधि मन्त्रालयकी सचिव रेणु स्वरूपसँग भेट गरी महिला उद्यमी औद्योगिक पार्कका लागि आवश्यक सहयोगका क्षेत्रका बारेमा छलफल गरेको थियो। दक्षिण एसियाली महिला विकास मञ्च नेपाल महिला उद्यमी महासंघसँगको सहकार्यमा हरित औद्योगिक पार्क स्थापना गर्न लागेको हो।
उद्योगका लागि पाँचखाल नगरपालिकाले एक सय ५७ रोपनी जग्गा छुट्याइसकेको छ।
‘समावेसीकरण, गरिबी निवारण र रोजगारी सिर्जनामा यो अभियानले ठूलो भूमिका निर्वाह गर्नेछ’, अध्यक्ष प्रमिला आचार्य रिजालले भनिन्, ‘यसको सफल सञ्चालनका लागि महिला उद्यमीले सिर्जनात्मक पहलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच खोजी गर्न तथा नवीन प्रविधिमा आधारित व्यावसायिक अवधारणा ल्याउनुपर्छ।’
हरित औद्योगिक पार्कका रूपमा विकास गरिन लागेको यो पार्कमा ऊर्जा दक्षताका लागि भवनका छतमा सोलार जडान, सोलार एलईडी सडक बत्ती जडान गर्ने, ठोस फोहरमैला व्यवस्थापन र पुनःप्रयोगमा ल्याउने उद्योग स्थापना हुनेछन्। यसैगरी फोहोर पानी शुद्धीकरण प्लान्ट, महिला उद्यमीका लागि संयुक्त तालिम कार्यक्रम, प्रविधि र नवप्रवर्तनलाई जोड दिनुका साथै हरित, वातावरणमैत्री र प्रदूषणरहित उद्योगमात्र स्थापना गरिनेछ।