हिमालय एयरलाइन्स चार अर्ब ८३ करोड घाटामा

हिमालय एयरलाइन्स चार अर्ब ८३ करोड घाटामा

काठमाडौं : अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ। निजी लगानीको यो वायुसेवाले नेपालमा नियमित उडान सुरु गरेको चैत अन्तिममा तीन वर्ष पुग्छ। यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनि एक अर्बभन्दा बढी घाटा व्यहोरिरहेको छ।

यो वायुसेवा आव ०७४/७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको अन्नपूर्णलाई प्राप्त तथ्यांकमा उल्लेख छ। यो रकम हिमालयको एक वर्षकोे खुद घाटा हो। यो वायुसेवाले गत वर्ष कमाएको कुल रकम पाँच अर्ब ६० करोड रुपैयाँ छ भने यसबापत भएको खर्च मात्रै ६ अर्ब ६० करोड रुपैयाँ छ। यसको सञ्चालन घाटा मात्रै एक वर्षमा एक अर्ब ६२ करोड रुपैयाँ र अन्य खर्चसहित भएको घाटा वार्षिक एक अर्ब ७६ करोड पुगेको तथ्यांकले देखाएको छ।

हिमालय एयरलायन्सले एक वर्षमा यात्रुलाई दिएको सेवा भने दुई लाख २४ हजार एक सय ५३ जना छ। यो तथ्यांक त्रिभुवन विमानस्थल कार्यालयले अंग्रेजी महिनाअनुसार तयार पारेको तथ्यांकले देखाउँछ। यस्तो तथ्यांकअनुसार सन् २०१८ को एक वर्षमा यो वायुसेवाले बोकेका यात्रुमध्ये एक लाख तीन हजार दुई सय २७ जनालाई काठमाडौं ल्याएको र एक लाख २० हजार नौ सय २६ यात्रुलाई विमानस्थलबाट बाहिर लगेको उल्लेख छ। सन् २०१८ मा १७ सय ७० उडान गरेको छ।

हिमालय एयरले एयरबसको ए३२०–२१४ सिरिजका तीनवटा न्यारोबडी जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। यो वायुसेवासँग भएका तीनवटै जहाजको यात्रु क्षमता एक सय ५८ सिट छ। यो वायुसेवाले ३२० जना भन्दा बढीलाई रोजगारीसमेत दिएको छ।

‘नेपालमा पर्यटक आगमन बढिरहेको भए पनि हामीले गर्ने अन्तर्राष्ट्रिय उडान पूर्णक्षमतामा हुन सकेको छैन’, हिमालय एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने। ‘कम्पनीको व्यवसाय भएकाले घाटा÷नाफा भइनै रहन्छ। कहिले नाफा हुन्छ त कहिले घाटा यो कुनै पनि कम्पनीको सञ्चालन प्रक्रिया हो’, श्रेष्ठले अन्नपूर्णसँग भने।

अहिले पर्यटककका लागि अफ सिजन पनि भएकाले ६ महिनाको छोटो समयका लागि एउटा जहाज भाडामा लगाउन लागिएको छ। उनले भने, ‘यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएकाले अब प्रक्रियामा छौं।’ यो वायुसेवाले ओमानको सलाम एयरलाई जहाज भाडामा दिने भएको छ।

क्षमताअनुसार यात्रु नहुनु, नाफाको गन्तव्यमा उडान गर्न नसक्नु र भएका गन्तव्यबाट पनि लाभ लिन नसक्नु घाटामा जानुका प्रमुख कारण हुन्।

हिमालयले सलामलाई भाडामा दिन लागेको एउटा जहाज हिमालयकै चालकदलका सदस्यसहितको उडाउने गरी हो। दुईवटा कम्पनीबीच भएको सहमतिअनुसार अब सलाम एयरको उडानमा हिमालयको जहाज प्रयोग गर्ने उल्लेख छ। यो वायुसेवा नेपालकै दर्ता नम्बरमा हिमालयकै ब्रान्डमा सलामले आफ्नो उडान गन्तव्य भएको जुनसुकै गन्तव्यमा पनि प्रयोग गर्न सक्नेछ।

हिमालय एयरलाइन्सले आफैंले जहाज लामो समयका लागि ड्राइ लिजमा तिब्बत एयरलाइन्सबाट ल्याएको वायुसेवा हो। यो वायुसेवामा नेपाली लगानीकर्ता यती वल्र्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ।

२०७२ चैत ३० देखि काठमाडौंबाट श्रीलंकाको कोलम्बो व्यावसायिक उडान सुरु गरेको वायुसेवाले मागेको नाफामूलक रुट नपाएको र जहाजको क्षमता विस्तार गर्न नसक्दा कम्पनी घाटामा गएको हो। कोलोम्बो केही समय उडान गरेको र त्यसपछि म्यानमारको रंगुनमा पनि यसले उडान गरेको थियो। यी दुवै गन्तव्यबाट लाभ लिन नसकेपछि उडान सुरु गरेको छोटो समयमा ती गन्तव्यमा उडान बन्द भएको थियो। मलेसिया राम्रो उडान गन्तव्य भए पनि पछिल्लो समय कामदार जान रोकिएको उडान कमजोर छ।

हिमालयले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, कुन्मिङ, ग्वान्झाओसहितको गन्तव्यमा उडान गर्न चाहेको भए पनि अनुमति पाएको छैन। यी गन्तव्य यात्रु उडानका दृष्टिले लाभदायक छन्। उक्त गन्तव्यमा उडान अनुमति नपाएका कारण हिमालयले अपेक्षाअनुसार लाभ लिन नसकेर जहाज भाडामा लगाउने निर्णण गरेको उल्लेख छ।

यो वायुसेवाले हाल साउदी अरबको दमाम, कतारको दोहा, संयुक्त अबर इमिरेट्स (यूएई)को दुबई र मलेसियाको क्वालालम्पुरमा काठमाडौंबाट सातामा २२ वटा उडान गर्छ। यसले चैत १७ गतेबाट संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा साताको तीनवटा उडान गर्ने गरी तालिका तय गरेको छ।

लामो समयका लागि नेपालमा व्यवसायमा छिरेको भए पनि अपेक्षाकृत उडान गर्न नसक्दा हालसम्म तीनवटामात्रै जहाज भित्र्याएको छ। यसले एउटा जहाज भाडामा लगाएपछि अब दुईवटा जहाजबाट मात्रै काठमाडौंबाट उडान गर्नेछ। यो वायुसेवाले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जहाज ल्यान्डिङ, पार्किङबापतको करिब २० करोड रुपैयाँ पनि बुझाउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। यो रकम नबुझाएका कारण पटकपटक उडान रोक्ने चेतावनी विमानस्थल कार्यालयले दिएको थियो। यसले पछिल्लो समय यो रकम मासिक ७५ लाख रुपैयाँका दरको किस्ता तिर्ने र बक्यौता घटाउने सहमति गरेका कारण उडान सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.