फेरि सगरमाथा चढ्दै कल्पना
काठमाडौं : हिमाल आरोही एवं पत्रकार कल्पना महर्जन फेरि सगरमाथा चढ्ने भएकी छन्। एक वर्षअघि सगरमाथाको सफल आरोहण गरेकी कल्पना दोस्रो पटक सगरमाथा आरोहण गर्न लागेकी हुन्। तीन महिनादेखि आरोहणको तयारीमा रहेकी ३५ वर्षीया महर्जन यस पटक चीनबाट सगरमाथा आरोहण गर्न लागेकी छन्।
गतवर्ष ‘समानताको लागि बुलन्द आवाज’ नाराका साथ महिला पत्रकार टोलीसँगै आरोहण गरेकी कल्पनाले यस वर्ष बालविवाह रोकथामको लागि जनचेतना जगाउन आरोहण गर्न लागेको बताइन्। यसपटक उनको आरोहणको नारा ‘कल्पना ब्याक टु एभरेस्ट अ क्याम्पिजियन अगेन्स चाइल्ड म्यारिज’ रहेको छ। उनी अर्को महिना सगरमाथा आरोहण गर्नेछिन्।
‘मैले सगरमाथा चढेर एउटा आरोहीको पहिचान बनाए। यसलाई म त्यत्तिकै राख्न सक्दिनँ। नेपालमा धेरै बालबालिका उमेर नै नपुगी विवाह गर्न बाध्य छन्। यसलाई रोक्ने एउटै माध्यम भनेको शिक्षा हो। आरोहणबाट बचेको रकम मैले शान्ति शिक्षा अभियान नेपाल नामक संस्थामार्फत बालबालिकाको शिक्षामा खर्च गर्न चाहेको छु। आरोहणसँगै समाजसेवा मेरो उद्देश्य हो,’ महर्जनले भनिन्।
मेगा टेलिभिजनमा कार्यरत कल्पनाले आरोहणकै लागि अफिसबाट छट्टीसमेत लिइसकेको बताइन्। कल्पनाको आरोहणलाई यसपटक ललितपुर महानगरपालिकाले आफ्नो एक सय वर्ष पुगेको अवसरमा र संस्कृतिविद् सत्यमोहन जोशीको शतवार्षिक कार्यक्रमअन्तर्गत उनलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ। सहयोगबापत कल्पनाले सगरमाथामा ललितपुर महानगरको झन्डा र सत्यमोहनको फोटो फहराउनेछिन्। कल्पनाको हेली पार्टनरमा सिम्रिक एयर रहेको छ। यसैगरी उनको आरोहणलाई ललितपुर चेम्बर्स, ज्यापू समाज ललितपुर, युनाइटेड सिमेन्ट, माइजान तेल, ग्रेस इन्टरनेसनल कन्सल्टेन्सी, आईएमएस कलेजलगायत संस्थाले सहयोग गर्ने भएका छन्।