मुसीकोटमा एक युवक मृत भेटिए
रुकुम पश्चिम : रुकुम मुसीकोट नरपालिका–४ सोलाबाङका एक युवक मृत भेटिएका छन् ।
घरनजिकै पानी लगाउने कुलोमा २८ वर्षीय नविन खड्का सोमबार बिहान मृत भेटिएका हुन् । सोमबार बिहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खड्काको शवलाई जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको थियो ।
रुकुम जिल्ला अदालतमा तामिलदारको रुपमा कर्मचारी रहेका खड्काले आइतबार राति अत्याधिक मदिरापान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताएका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । केही समय रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघि मात्रै रुकुम जिल्ला अदालतमा आएका थिए ।