महिला कैदीबन्दीलाई ब्युटिपालर तालिम
धनगढी : कैलाली कारागारमा रहेका महिला कैदीबन्दीलाई तालिमको व्यवस्था गरिएको छ। धनगढी उप-महानगरपालिकाको सहयोगमा सुनौलो भविष्य नेपालले ३ महिने ब्युटीपालर तालिम सोमबारदेखि सुरु गरेको हो।
तालिमको धनगढी उपमहानगरका मेयर नृपबहादुर वडले उद्घाटन गरेका हुन्। मेयर वडले कानुन हातमा लिएका कारण विभिन्न व्यक्तिले सजाय भोग्नुपर्ने अवस्था आएको बताए। उनले महिला कैदीबन्दीलाई कारगारबाट सजाय भोगी निस्केपछि समाजमा असल काम गरेर देखाउन ब्युटीपालर तालिमको आयोजना गरेको बताए।
रोजगारीको अभाव हुँदा समाजमा अपराध बढिरहेको उनले स्वीकार गरे। कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले ब्युटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीलाई आग्रह गरे।'तपाईहरु तालिममा राम्रोसँग सीप सिक्नुहोस्, उनले भने, 'यसले तपाईलाई आत्मनिर्भर बनाउँछ।'
सुनौलो भविष्य नेपालका अध्यक्ष तुलसी देवकोटाले तालिममा बढी भन्दा बढी समय दिन सहभागीसँग आग्रह गरिन्। तालिममा जिल्ला कारागार शाखा कैलालीमा रहेका २४ जना महिला कैलीबन्दी सहभागी छन्। देवकोटाले ३४ जना महिला कैदीबन्दी रहेकोमा १० जनाको जेलको म्याद छोटो भएकाले सहभागी गराउन नसकिएको जानकारी दिइन्।