एसपी बढुवा सिफारिसमा असन्तुष्टि, गृहमा उजुरी

एसपी बढुवा सिफारिसमा असन्तुष्टि, गृहमा उजुरी

काठमाडौ : फागुन ५ गते सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा भएको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै सशस्त्रका दुई डीएसपीले गृह मन्त्रालयमा उजुरी दिएका छन्।

अघिल्लो साता भएको बढुवा सिफारिसमा आफूहरू छुटेको भन्दै सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लेखनाथ खनाल र अच्युतकुमार मजगैंयाले आइतबार अपराह्न गृह मन्त्रालयमा उजुरी दिएका हुन्।

डीएसपीद्वय खनाल र मजगैंयाले गृह सचिव प्रेमकुमार राई अध्यक्ष रहेको उजुरी सुन्ने समितिमा उजुरी दिएका हुन्। सशस्त्र प्रहरी बलले फागुन ५ गते ३७ जना डीएसपीलाई एसपी बढुवाको लागि सिफारिस गरेको थियो।

उजुरी दिएका खनालले अन्नपूर्णसँग भने, ‘ नियमावलीमा व्यवस्था भए बमोजिम बढुवा सिफारिसमा चित्त नबुझेकाले उजुरी दिइएको हो।’

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले उम्मेदवारको कार्यसम्पादनको आधारमा बढुवा सिफारिस गरिएको बताए। प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘कार्य सम्पादनका आधारमा बढुवा सिफारिस गरिएको हो। संगठनले कसैलाई विभेद गरेको छैन।’

स्टाफ कलेज गरेका र कार्य क्षेत्रमा समेत अब्बल रहेका केही डीएसपीहरू बढुवाबाट छुटेका छन्। कार्यसम्पादन मूल्यांकनमै विभेद गरेको उनीहरूले आरोप लगाएका छन्।

सशस्त्र प्रहरी नियमावलीमा बढुवामा चित्त नबुझे उजुरी हाल्ने प्रावधान छ। बढुवा सिफारिसउपर चित्त नबुझे सशस्त्र प्रहरी नियमावलीको नियम ५५ अनुसार सात दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने नियम छ।

बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अध्यक्ष, गृह मन्त्रालयले खटाएका सहसचिव सदस्य र प्रशासनका हेर्ने डीआईजी सदस्य सचिव रहने व्यवस्था छ। बढुवामा छुटेकाहरूले सशस्त्र नेतृत्वले आफूहरूलाई कार्यसम्पादन मूल्यांकन बापत् दिइने नम्बरमा विभेद गरेको आरोप लगाएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवाका लागि भएको सिफारिसलाई लिएर सशस्त्र मुख्यालय भित्रै असन्तुष्टि चुलिएको छ। संगठनको नेतृत्व गर्ने क्षमता भएका आधा दर्जन डीएसपीहरू बढुवामा छुटेका छन्।

सशस्त्रका आईजी खनालले राम्रा र काविल डिएसपीहरुलाई भन्दा पनि राजनीतिक सन्तुलत कायम गर्ने उदेश्यले बढुवामा सिफारिस गरेको स्रोतको दाबी छ।

‘केही राम्रा र सक्षम डीएसपीहरू बढुवाका लागि सिफारिस भएका छन्। त्यसमा कसैको आपत्ति छैन’, बढुवामा नपरेका एक डीएसपीले अन्नपूर्णसँग भने, ‘तर कार्यसम्पादन र वरियतामा निकै तल रहेकालाई पनि राजनीतिक पहुँचका आधारमा जबर्जस्ती तानिएको छ। त्यसमा हाम्रो आपत्ति हो।’

बढुवा सिफारिस प्रक्रियामा आईजीपी खनालले संगठनकै एआईजीहरूसँग समेत परामर्श नगरेको असन्तुष्टहरूको आरोप छ। नातागोता, क्षेत्रीयता र आफू अनुकूलको राजनीतिक सन्तुलन कायम गर्ने गरी बढुवा सिफारिस गरिएको उनीहरूले दाबी गरेका छन्।

डीएसपीहरू प्रकाश सुवेदी, दीपक थापा, सुवास भण्डारी, सुधीर सुवेदी, सञ्जय भट्टराई, राजकुमार लामिछाने लगायत बढुवा सिफारिसमा छुटेका छन्। बढुवामा छुटेका केही डीएसपीले सशस्त्रका आईजी खनाललाई भेटी असन्तुष्टि पोखेको सशस्त्र मुख्यालय स्रोतले दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.