बाजुराका बुदे बोहराले ८२ वर्षमा पाए नागरिकता
बाजुरा : बाजुराको गौमूल गाउँपालिका ३ का ८२ वर्षीय बुदे बोहराले सोमबार घरदैलोमै नागरिकता पाएका छन्। उनलाई जिल्ला प्रशासन कार्यालयको शिविरमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले बताए।
बोहरालाई प्रतिनिधि सभाका सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी बरालले संयुक्त रुपमा हस्तान्तरण गरे।
नागरिकता नहुँदा उनले लामो समय देखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनन्। वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरे। बिहे नगरेर भाई र आफन्तसँग बस्दै आएका बोहरालाई नागरिकता बनाउनुपर्ने थाहा नै नभएको प्रमुख जिल्ला अधिकारी बरालले बताए।
शिविर बस्ने थाहा पाएपछि भतिजी नाता पर्ने विमला बोहराले उनलाई गाउपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेकी थिइन्।
बुढीगंगा नगरपाकिला ७ की चन्द्र बादीकी श्रीमती धनसरा बादीले पनि नागरिकता बनाएकी छिन्। आफन्त कोही नभएकी वादीलाई वडा अध्यक्ष र स्थानीयलाई साक्षी राखेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी बरालले बताए।
जिल्ला प्रशासन कार्यालय बाजुराले चालु आर्थिक वर्षमा खप्तड छेडेदह गाउपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउपालिकामा शिविर संचालन गरेर २६ सय भन्दा बढीलाई नागरीकता वितरण गरेको छ।