उद्योगमा विदेशी लगानी ह्वात्तै घट्यो
काठमाडौं : चालू आर्थिक वर्ष विदेशी लगानी ह्वात्तै घटेको छ। सरकारले विदेशी लगानीका लागि उपयुक्त वातावरण भएको बताइरहेका बेला लगानी घटेको हो। चालु आर्थिक वर्षको प्रथम नौ महिनामा गत वर्षको यसै अवधिको तुलनामा विदेशी लगानी एक तिहाइ मात्र छ।
सरकारले विदेशी लगानी आकर्षित गर्न चैत्र १५ र १६ गते लगानी सम्मेलन गर्दै छ। विदेशी लगानी बढाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत लगानीसम्बन्धी कानुन खुकुलो बनाइएको छ। उद्योग विभागका अनुसार साउनदेखि चैत्रसम्म ११ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी भएको छ। तर गत वर्ष सोही अवधिमा ३४ अर्ब ९१ करोड विदेशी लगानी भएको थियो।
गत वर्षको तुलनामा आठ सयले थप रोजगारी पाएका छन्। चालु आवमा आठ हजार तीन सय ६९ जनाले रोजगारी पाएका छन् भने गत वर्ष सात हजार पाँच सय ४१ जनाले रोजगारी पाएका थिए।
विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराका अनुसार लगानी सम्मेलनपछि विदेशी लगानी ह्वात्तै बढ्ने अपेक्षा छ। ‘लगानी प्रक्रियालगायत धेरै विषयमा सहज बनाइएको छ’, उनले भने,‘अब विदेशी लगानी बढ्न सुरु हुनेछ।’ ऐन परिमार्जनका क्रममा रहेकाले विदेशी लगानीकर्ता लगानीको प्रतिक्षामा रहेको हुन सक्ने उनले बताए।
गत वर्ष तीनवटा हाइड्रोपावरमा २२ अर्ब लगानी भएको थियो। यस वर्ष हाइड्रोपावर कम्पनी स्थापना भइसकेका छैनन्। निर्देशक बोहराले हाइड्रोपावर कम्पनी पाइपलाइनमा भएकाले आव अन्तसम्म लगानी बढ्ने बताए। ‘केही ठूला उद्योग आउन थालेका छन्’,उनले भने,‘तर अझै दर्ता हुन सकेका छैनन्। चालु आवको नौ महिनामा सेवा क्षेत्रमा ७७ वटा उद्योग स्थापना भएका छन्।
ती उद्योगमा एक अर्ब ८० करोड विदेशी लगानी भएको छ। गत वर्ष सोही अवधिमा सेवा क्षेत्रमा ६२ वटा उद्योगमा एक अर्ब २७ करोड लगानी भएको थियो। सेवा क्षेत्रमा दुई हजार चार सय ६८ जनाले रोजगारी पाएका छन्। गत वर्षको तुलनामा यस क्षेत्रमा करिब चार सय बढीले रोजगारी पाएका छन्।
पर्यटन क्षेत्रमा ७३ वटा उद्योगमा तीन अर्ब ७० करोड विदेशी लगानी भएको छ। गत वर्ष ६१ वटा उद्योगमा एक अर्ब ५८ करोड विदेशी लगानी भएको थियो। पर्यटनमा दुई हजार एक सय ६१ जनाले रोजगारी पाएका छन्। गत वर्षभन्दा तीन सय ५० जना बढीले रोजगारी पाएका छन्।
उत्पादनमूलक उद्योगमा ५५ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगमा पाँच अर्ब ४६ करोड विदेशी लगानी भएको छ। गत वर्ष पाँच अर्ब ८५ करोड लगानी भएको थियो। उत्पादनतर्फ यस वर्ष दुई हजार सात सयले रोजगारी पाएका छन् भने गत वर्ष दुई हजार दुई सय ५८ जनाले रोजगारी पाएका थिए।
विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा १६ वटा उद्योगमा २३ करोड, १० वटा कृषि तथा वनजन्य उद्योगमा नौ करोड लगानी भएको छ। गत वर्षको सोही अवधिमा १७ वटा सूचना प्रविधि उद्योगमा २६ करोड र ११ वटा कृषि तथा वनजन्य उद्योगमा एक अर्ब ८६ करोड लगानी भएको थियो।
उद्योग विभागका महानिर्देशक विनोदकुमार सिंहले पुँजीको हिसाबले विदेशी लगानी घटेको बताए। गत वर्ष हाइड्रोपावर कम्पनी दर्ता भए पनि यस आवमा अझै आइनसकेकाले विदेशी लगानी कम देखिएको उनको भनाइ छ। ‘केही ठूला उद्योग दर्ता हुने क्रममा छन्, ‘उनले भने, ‘आवको अन्त्यमा गत वर्षको तुलनामा लगानी बढ्न सक्छ।’
ठूला उद्योगमा विदेशी लगानी घटे पनि मझौला तथा साना उद्योगमा विदेशी लगानी बढेको छ। लगानीको पर्याप्त वातावरण नभएकाले विदेशी लगानी गर्न उत्साहित नदेखिएको तर सम्भावना खोजी गरेको जानकार बताउँछन्।
सरकारले स्वदेशीभन्दा विदेशी लगानीलाई प्राथमिकता दिन खोजेको उद्योगी बताउँछन्। ‘विदेशी लगानी र प्रविधि अपरिहार्य छ, ‘ती उद्योगीले भने,‘तर स्वेदेशी उद्योगको संरक्षण नगरी विदेशी मात्रै ल्याउँछु भन्नु उचित हुँदैन।’
महानिर्देशक सिंह एकल सेवा बिन्दुबाट सेवा दिन सुरु हुन लागेकाले विदेशी लगानी बढ्ने बताउँछन्।