लगानी सहजीकरणको तत्परता

लगानी सहजीकरणको तत्परता

आसन्न लगानी सम्मेलनसँगै मुलुकभित्र यससम्बन्धी बहसले तीव्रता पाएको छ। केही परियोजनासहित मुलुकभित्र लगानीका अवसर, लगानीकर्तालाई सुविधा र लगानी संरक्षणका सम्बन्धमा जानकारी दिन आयोजना गर्न लागेको यो सम्मेलनमा बाह्य मुलुकबाट गैरआवासीय नेपालीबाहेक ६ सय ५० जनाले सहभागिता जनाउने भएका छन्। 

नेपालमा हुन लागेको लगानी सम्मेलनमा यो तहको सहभागिताले लगानीकर्ताको नेपालप्रतिको चासोलाई दर्शाएको छ। लगानी सम्मेलनको यो मञ्चबाट नेपाल सरकार र निजी क्षेत्रले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश पु¥याउने आशा गरिएको छ।

लगानी सम्मेलनमार्फत नेपालले लगानी भित्र्याउन आकांक्षा देखाएको सन्देश दिन चाहेको छ। यस्तो सम्मेलन हुनेबित्तिकै लगानी आइहाल्ने होइन। लगानी गर्न इच्छुक लगानीकर्तासँग निरन्तर ‘फलोअप’ आवश्यक पर्छ। वास्तवमा लगानीको वातावरण सुधार आफैंमा निरन्तर चलिरहने प्रक्रिया हो। खास विषय त सरकारको तत्परता हो। 

अहिले लगानी भित्र्याउन भए÷गरेका पहलले सरकार संवेदनशील भएको सन्देश प्रवाहित गरेको छ। तर लगानीकर्ताले लगानी भित्र्याउने (प्रवेश), परियोजना सञ्चालन, नाफा फिर्ता तथा बाहिरिने अधिकारलाई समेत सुरक्षित गरी व्यावहारिक कठिनाइलाई क्रमशः समाधान गर्दै जानुपर्छ।

दस वर्ष लामो सशस्त्र द्वन्द्व र लामो राजनीतिक संक्रमणका कारण हामीकहाँ औद्योगिक÷व्यावसायिक वातावरणमा ह्रास आएको छ। त्यसमा एकाएक चामत्कारिक सुधार आइहाल्छ भन्ने होइन। तर नेतृत्वको तत्परताले कति फरक पार्छ भन्ने उदाहरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेका छन्। 

मोदीको कार्यकालमा भारत विश्वभरमा व्यवसाय गर्ने वातावरणमा सहजताको हिसाबले सन् २०१४ मा १४२ औं स्थानबाट सन् २०१८ मा ७७ औं स्थानमा उक्लेको छ। त्यस्तै दक्षिण एसियाली बंगलादेशमा उद्योगमा हडताल हुँदैन। त्यहाँको मुख्य निकासी गार्मेन्टको कच्चा वस्तु आयातदेखि निर्यातसम्म कार्गो एम्बुलेन्सको सुविधा दिइन्छ। 

विदेशी लगानीको आवेदन दिने स्वीकृति गर्नेदेखि कम्पनी दर्तासम्म अनलाइनबाटै गर्न सकिन्छ। यस्ता उदाहरणबाट सिक्दै हामीले लगानीको वातावरणमा क्रमशः सुधार गर्दै लैजानुपर्छ। राजनीतिक स्थायित्वसँगै अहिलेको सरकारलाई इतिहासले अभूतपूर्व अवसर दिएको छ। त्यस अवसरलाई उपयोग गर्दै हाम्रा प्रतिस्पर्धी र तुलनात्मक लाभका क्षेत्रमा लगानी आकर्षण गर्दै उच्च आर्थिक वृद्धिको दिगोपना, रोजगार सिर्जना, उत्पादन वृद्धिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर हुनुपर्छ।

नेपालले कृषि अर्थतन्त्रबाट औद्योगिक विकासको चरण नै पार नगरी एकैपटक सेवा क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको बाटो समातेको छ। यसको दिगोपनामा प्रश्न उठेको छ। जसका कारण हामीले एक चरणको औद्योगिक विकास हासिल गर्नैपर्नेछ। औद्योगिक विकासका लागि अब हामी समयअनुकूल उच्च प्रविधि र ज्ञानमा आधारित औद्योगिक विकासमा प्रवेश गरी त्यसबाट लाभ लिनुपर्छ। 
भारत र चीनजस्ता उदीयमान अर्थतन्त्रको छिमेकमा बसेर हामीले दुवै मुलुकका उत्पादन र बजार सञ्जालमा आबद्ध हुने अवसरको समेत सही ढंगले उपयोग गर्न जरुरी छ। यसका लागि हामीले मुलुकमा लगानीको वातावरण सुधारसँगै आर्थिक कूटनीतिलाई पनि सशक्त बनाउनुपर्छ। आर्थिक विकासको मार्गमा अघि बढ्न सरकार र निजी क्षेत्रको बृहत्तर साझेदारी आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.