सप्तरंगी क्यानभास
काठमाडौं : लाफिङ बुद्ध फोनमा कुरा गर्दै छन्। ध्यानमा मग्न एक व्यक्ति एस्ट्रोनटको कस्ट्युममा छन्। रोबोट सोफिया भगवान्को अवतारमा छिन्। अनि सँगै छन् सवारीसाधनले घेरिएका भगवान् बुद्ध र भैरव। कलाकार रोशन प्रधानले तयार पारेको यो पेन्टिङमा पञ्चबुद्धलाई परम्परा र प्रविधिको समायोजन गरी बनाइएको छ। टुँडाल शीर्षकमा उनको अर्को पेन्टिङ पनि प्रदर्शनमा छ।
यो दृश्य बबरमहलस्थित नेपाल आर्ट काउन्सिल चलिरहेको कला प्रदर्शनीको हो। यसलाई प्यागोडा ग्रुपले प्रदर्शनीमा ल्याएको हो। यो समूहका सात जना कलाकारको पेन्टिङलाई प्रदर्शनीमा राखिएको छ।
रोशन भन्छन्, ‘हाम्रो परम्परा, मौलिकता र जीवनशैलीसँग प्रविधि बाध्यता र आवश्यकताका रूपमा जोडिएको छ।’ प्रविधि आजको युगमा शक्तिशाली साधन भएकाले यसलाई भगवान्को दर्जा दिँदै पेन्टिङ बनाएको उनी बताउँछन्। उनको पेन्टिङले वर्तमान समाजको प्राविधिक पक्षहरूलाई महत्त्वका साथ उठाएको छ।
कलाकार किशोर ज्योतीका पेन्टिङहरू पनि निकै घतलाग्दा छन्। उनका पेन्टिङमा मानिसका बनावटी चरित्र झल्किन्छन्। उनले मानव चेतना, त्यसको बेहोसीपन र लालसामा फसेका मानिसभित्रको विवेकलाई आफ्नो कुचीको माध्यमले प्रष्ट्याउन खोजेका छन्। उनी भन्छन्, ‘मानिसको शरीर रोबोट जस्तै भइसकेको छ। हामी हरेक क्रियाकलाप बेहोसीमा गर्दैछौं।’ उनले आफ्नो पेन्टिङबाट मानिस आफ्नो स्वार्थका लागि पृथ्वीको उपयोग कसरी गर्दैछन् भन्ने पनि देखाउन खोजेका छन्। ‘पृथ्वी र मानिसको सम्बन्ध देखाउन मैंले आमा र बच्चालाई क्यानभासमा उतारेको छु,’ उनले भने।
कलाकार लिजा गैरेले पनि गहिरो भाव छोड्ने पेन्टिङ बनाएकी छन्। एक महिला र अस्ट्रिज उनको पेन्टिङमा देख्न सकिन्छ। एउटा सुनौला सिक्री अस्ट्रिजको घाँटीमा बाँधिएको छ र त्यही सिक्री महिलाको नाक लगाउने नत्थी भएको छ। लिजा भन्छिन्, ‘चित्रमा महिलाको बाध्यकारी अवस्था देखाउन खोजेकी छु।’
प्यागोडा गु्रपले हरेक वर्ष विविध शैलीमा पेन्टिङ प्रदर्शनीमा ल्याउँदै आएको छ। यस वर्ष पनि कलाकारले आ–आफ्नो रुचि र दक्षताको विषय छनोट गरेका छन्। यसबाट कलाकारको सप्तरंगी प्रतिभालाई प्रदर्शनीमा देख्न सकिन्छ। कलाकार पासाङ (मंगोल पुत्र) ले यस वर्ष बोधीसत्वको भावलाई दर्शाएका छन्। अर्को तर्फ कलाकार रुद्रबहादुर पुनले परम्परागत खेतीपातीका साधनहरूलाई क्यानभासमा उतारेका छन्। उनी भन्छन्, ‘हाम्रो अघिल्ला पुस्ताको जीवनशैली गाउँघर, ‘खेतीबारीमा कस्तो थियो भन्ने कुरा आजको पुस्तालाई देखाउन खोजेको हूँ।’ डेलिलाइफ स्टाइल शीर्षकको पेन्टिङमा धानबालीको बिस्कुन र त्यहाँ काम गरिरहेका मानिसले त्यही पुरानो पुस्ताको जीवनशैली झल्काउँछ।
प्रदर्शनीमा राखिएका प्रद्युम्न श्रेष्ठका चित्रहरूले उपत्यकाका मठमन्दिर, परम्परा र संस्कृति हराउँदै गएको संकेत गरेको छ। उनीद्वारा बनाइएका भ्यानिसिङ हनुमानढोका शीर्षकको पेन्टिङमा भूकम्पपछि क्षति भएको सांस्कृतिक सम्पदाको चित्रण छ।
यता माला श्रेष्ठका चित्रले नारी भावलाई दर्शाएको छ। उनको ओसन अफ थट्स शीर्षकको पेन्टिङमा नारी वेदनालाई देख्न सकिन्छ।
प्रदर्शनीको उद्घाटन शनिबार भएको थियो। प्रदर्शनी चैत १७ सम्म चल्ने आयोजकले बताएका छन्। सामूहिक प्रदर्शनीमा रोशन प्रधान, पासाङ (मंगोलपुत्र), किशोर ज्योती (युवा झिल्को), माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, लिशा गैरे र रुद्रबहादुर पुनसहित सात जनाको सहभागिता छ।