असिनापानीले तरकारी र गहुँबालीमा क्षति
अछाम : सोमबार साँझ परेको असिना पानीले जिल्लाका विभिन्न स्थानमा तरकारी र गहुबालीमा क्षति पुर्याएको छ। साँझ करीब ७ बजे तिर पानीसँगै परेको असिनाले ३ रोपनी जमीनमा लगाएको तरकारी बाली पुरै नष्ट गरेको साँफेबगर नगरपालिका ९ बुढाकोटका कृषक सुरेश कुवँरले बताए। उनले भने, 'लगाएको तरकारी सबै असिनाले नष्ट गर्यो, ४० हजार जतीको बिउ थियो त्यो पनी सखाप भयो।'
साँफेबगर नगरपालिकाको माथिल्लो क्षेत्र-११ देवीस्थान, १२ खप्तड, १३ बाब्ला र १४ पातलकोटमा असिना पानीले क्षति पुर्याएको छ। पाक्नै लागेको गहुँबाली र तरकारी नष्ट गरेको देबीस्तानका वडा अध्यक्ष गणेश खड्काले बताए।उनले भने,' यस क्षेत्रमा जति मेहनत गरेपनि राम्रो उब्जनी हुँदैन, त्यसमाथि पनि असिनाले भएको खेति सबै नष्ट गर्यो। अन्नबाली पाक्ने हरेक वर्ष यस्तै क्षति ब्यहोर्नुपर्छ।'
असिनाले पाक्न लागेको गहुँबाली र तरकारी खेती नष्ट गरेपछि किसान चिन्तित भएका छन्। यस्तै मेल्लेख गाउँपालिका ८ हात्तिकोटमा पनि ठूलो क्षति पुर्याएको स्थानीय महेश ठकुल्लाले जानकारी दिए।
गत साल पनि चैत महिना मै असिना पानीले चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाका माथिल्लो स्थानमा रहेका वडामा ठूलो क्षति पुर्याएको थियो।