टिपरलाई ‘टाइम कार्ड’
विराटनगर : टिपरको बढ्दो आतंक रोक्न प्रदेश १ का ४ जिल्लामा सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ। टिपर व्यवसायीको सहकार्यमा मोरङ, सुनसरी, झापा र उदयपुरमा एकै पटक ‘टाइम कार्ड’ लागू गरिएको हो। अब चारवटा जिल्लाका सबै सडकमा चल्ने टिपरले यो नियम मान्नु पर्नेछ। टिपरलाई मात्र लक्ष्य गरेर ‘टाइम कार्ड’ लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ‘टाइम कार्ड’ले टिपरको तीव्र गति र सडकमा टिपरका कारण हुने दुर्घटना नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार ‘टाइम कार्ड’ लागू गरिएका कारण अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा टिपर गन्तव्यमा पुग्नुपर्ने हुन्छ। तोकेको समयभन्दा अगाडि नै पुग्ने टिपर कारबाहीको भागीदार बन्नु पर्नेछ। टिपर चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ पासबुक आकारको छ। ‘तीव्र गतिमा कुदाउने गरिएको र अयोग्य चालकले चलाउने गरेका टिपरका कारण सडक दुर्घटना बढिरहेको पाइयो,’ एसपी पौडेलले भने, ‘त्यही भएर टिपरका हकमा मात्रै ‘टाइम कार्ड’ लागू गरिएको हो।’
ट्राफिक प्रहरीले किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरेको छ। लागू भएपछि तोकिएको समयभन्दा पहिले पुग्ने टिपरलाई पहिलो पटक सम्झाइबुझाई गरिनेछ। दोस्रो पटक हजार रुपैयाँसम्म जरिवाना असुल गरिने एसपी पौडेलले बताए। तेस्रो पटक पनि नियम उल्लंघन गरे कारबाहीको दायरा बढाउने तयारी गरिएको छ।
एसपी पौडेलले टिपर चालकले अनियन्त्रित रूपमा हाँक्दा अत्यधिक दुर्घटना बढेकाले चालकलाई सचेत गराउन, टिपरबाट हुने दुर्घटना न्यूनीकरण गर्न र गति कम गर्न ‘टाइम कार्ड’ लागू गरिएको बताए। यो नियम लागू भएपछि चालकले प्रत्येक चेक प्वाइन्टमा टिपर रोकेर ट्राफिक प्रहरीले दिएको पासबुकमा आफ्नो समय दर्ता गराउनुपर्ने हुन्छ। त्यसको जानकारी एक ठाउँको ट्राफिक प्रहरीले अर्को स्टेसनमा प्रविधिको माध्यबाट पनि पठाउने व्यवस्था गरिएको पौडेलले बताए। एउटा पासबुक साइजको ‘टाइम कार्ड’ एक जना चालकका लागि १५ दिनसम्म प्रयोग गर्न पुग्ने बताइएको छ। भरिएपछि नयाँ ‘टाइम कार्ड’ व्यवस्था गरिनेछ।
‘टाइम कार्ड’ लागू भएपछि ट्राफिक प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए। उनका अनुसार मोरङका उर्लाबारी, बेलबारी, विराट्चोक, हरैंचा, नेमुवा, हाटखोला, रंगेलीलगायत सडकमा सिस्टमअनुसार टिपर चले÷नचलेको चेकजाँच गर्न ट्राफिक प्रहरी खटाइएको छ।
‘टाइम कार्ड’ मा मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछिया चोकदेखि बूढीगंगा गाउँपालिकाको नेमुवा चोकसम्म ५० मिनेट समय तोकिएको छ। मोरङका सडकमा गुड्ने टिपरलाई भने बेलबारी नगरपालिकाको भाउनेमा कार्यक्रम आयोजना गरेर ‘कार्ड’ वितरण गरियो। त्यहाँ आयोजित कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले टिपर चालकलाई कार्ड वितरण गरेका हुन्।
टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रदेश १ मा बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म राजमार्ग र व्यस्त सडकमा टिपर चलाउन रोक लगाएको थियो। ‘टाइम कार्ड’ लागू भएसँगै त्यसलाई पनि यथावत् राखिने भएको छ। चालकलाई आराम पनि हुने भएकाले सडक व्यस्त रहने बिहान र दिउँसो टिपर सञ्चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको जानकारी एसपी पौडेलले दिए।
पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले ट्राफिक प्रहरीसँगकै समन्वयमा ‘टाइम कार्ड’ लागू भएको बताए। ‘सडकमा हुने दुर्घटनाप्रति हामी टिपर व्यवसायी पनि चिन्तित थियौं,’ उनले भने, ‘अरूलाई मात्र दोष दिनुभन्दा नयाँ नियम लागू गरेर दुर्घटना कम गर्नुपर्छ भन्ने भावनासाथ काम गरिएको हो।’
चालु वर्षको हालसम्म प्रदेश १ मा टिपर दुर्घटनाका २१ वटा घटना भएका छन्। दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। बढी दुर्घटना मोरङ र उदयपुरमा भएका छन्। अत्यधिक दुर्घटना र तीव्र गतिका टिपरका कारण आतंकित स्थानीयले बेला–बेलामा विरोध गर्दै आइरहेका छन्। सुन्दरहरैंचामा माघ १३ गते ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनीसमेत गरेका थिए।