आफ्नै क्यालेन्डर बनाउँदै मध्यपुर थिमी नगरपालिका
भक्तपुर : भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिकाले स्थानीय सरकारको छुट्टै क्यालेन्डर बनाउने भएको छ। केन्द्र र प्रदेश सरकारसँगै स्थानीय सरकारले दिने सार्वजनिक बिदा उल्लेख गरेर आफ्नो छुट्टै क्यालेन्डर बनाउन लागिएको हो।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय सरकार मातहतका विद्यालय, कार्यालयलगायतमा काम गर्ने शिक्षक, कर्मचारीहरूलाई स्थानीय सरकारको अनुभूति हुने गरी क्यालेन्डर तयार गर्न लागिएको जानकारी दिए।
मध्यपुर थिमी सांस्कृतिक नगर भएकाले यहाँ मनाइने विभिन्न जात्रा, चाडपर्वलगायतमा बिदा निश्चित हुने गरी छुट्टै क्यालेन्डर बनाउन लागिएको उनको भनाइ थियो।
‘नगर कार्यपालिकाले क्यालेन्डर निर्माण कार्य अघि बढाइरहेको छ’, उनले भने, ‘बिदा दिनुपर्ने स्थानीय जात्रा, चाडपर्वको निर्क्योल भइरहेको छ।’
उनका अनुसार बिस्का जात्रामा मात्रै चार दिन बिदा दिने प्रस्ताव गरिएको छ। बिस्का जात्राको क्रममा मध्यपुर थिमी नगरका बालकुमारी, चपाचो, नगदेश, बोडेमा बैशाख १ गते सिन्दूर जात्रासहित ३२ खट जात्रा हुन्छ। त्यस्तै वैशाख २ गते बोडेमा जिब्रो छेड्ने जात्रा प्राचीन समयदेखि हुँदै आएको छ। यसबाहेक बिस्का जात्रामा सिन्दूर जात्रा गरिएका देवदेवीहरुको विभिन्न पूजाआजालगायतका विधिविधानले बिस्का जात्रा बैशाख ५ गतेसम्म लम्बिन्छ। त्यसैले बिस्का जात्रामा पाँच दिन बिदा दिनुपर्ने माग समेत भएको नपाका प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष राम थापामगरले जानकारी दिए।
उनले अरु पनि स्थानीय जात्रा, चाडपर्वमा बिदा दिनुपर्ने भएकाले बिस्का जात्रामै पाँच दिन बिदा दिन वैज्ञानिक र व्यवहारिक नहुने देखिएको बताए।
प्रमुख श्रेष्ठले नयाँ वर्षअघि नै नगर कार्यपालिकाबाट स्थानीय क्यालेन्डर स्वीकृत गरी प्रकाशन गर्ने जानकारी दिए।
चैत १४ गते नपाको २३ औं स्थापना दिवस
यसैबीच भक्तपुरको दोस्रो जेठो नगरपालिका मध्यपुर थिमीले यही चैत १४ गते आफ्नो २३ औं स्थापना दिवस मनाउने भएको छ।
भक्तपुरका तत्कालीन पाँच वटा गाउँ विकास समितिहरु क्रमशः नगदेश, चपाचो, बालकुमारी, बोडे र दिव्यश्वरी गाभेर २०५३ साल चैत १४ गते मध्यपुर थिमी नगरपालिका गठन गरिएको थियो।
नपाले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्ष विविध कार्यक्रमसाथ २३ औँ स्थापना दिवस मनाउन लागिएको जानकारी दिएको छ।
कार्यक्रम संयोजक एवं नपाका प्रवक्ता राम थापामगरले नपाको २३ औं स्थापना दिवसको अवसरमा नपाले नौ वटै वडाका महिला र पुरुष हुने गरी १८ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमाको रकम व्यहोर्ने घोषणा गर्ने बताए।
त्यस्तै कम्तीमा एक बालिका हुने गरी प्रत्येक वडाबाट तीनतीन जना सामुदायिक विद्यालयमा पढ्ने गरिब एवं जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक चार हजार रुपैयाँको छात्रवृत्तिको घोषणा गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए।
गट्ठाघरस्थित खेलमैदानमा हुने स्थापना दिवस कार्यक्रममा नपाले सञ्चालन गरेको सीपमूलक तथा रोजगारमूलक तालिमका सहभागीहरुले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनीको समेत हुने उनको भनाइ थियो।
‘स्थापना दिवस कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत हुनेछ’, उनले भने, ‘मध्यपुरका वरिष्ठ साहित्यकार र नपालाई तिर्नुपर्ने राजस्व नियमित रुपमा तिर्ने एवं बढी राजस्व तिर्ने सेवाग्राहीहरुमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।’