सानीभेरीमा पुल बन्यो
रुकुम पूर्व : सिस्ने ३ पोखराकी गौसरा खड्काले सानीभेरी तर्दा आफ्ना श्रीमान गुमाइन्। उनीजस्तै गाउँमा अकालमा आफन्त गुमाउने धेरै छन्। हिउँदमा काठको साँघु र बर्खामा जंघार तरेर वारपार गर्ने पोखराका जनताका लागि अब भने त्यो दुःख रहेन। किनभने नदीका दुई किनार जोड्ने झोलुङगे पुल बनिसकेको छ। यो पुलले किनारा मात्रै जोडेको छैन नदीमा बगेर आफन्त गुमाएकाको फाटेको मन पनि जोडेको छ।
दुई भीमकाय पडाहको बीच भएर बग्ने जिल्लाकै ठूलो सानीभेरी नदीमा पुल नहुँदा पोखरा र आसपासका सर्वसाधारणले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता थियो। पुल बनेपछि भने यो बाध्यता टरेको स्थानीय खुसीसाथ बताउँछन्।सस्टेनेबल ब्रिज डिविजन पुल्चोक ललितपुरको सहयोगमा बिएलपी-हिमशिखर जेभीद्वारा गत बैशाख २५ गते निर्माण सुरु भई फागुन पहिलो साता पुलको निर्माण सम्पन्न भएको हो।
पुलले सिस्ने ३ पोखरा र वडा नं. ६ का स्थानीलाई सजिलो बनाएको छ।पुल बनेपछि पोखराका सर्वसाधारणलाई सदरमुकाम रुकुमकोट जानआउन सजिलो भएको छ। साथै पोखरामा रहेका पर्यटकीय तातोपानी घुम्नका लागि सहज हुने वडा नं. ३ का अध्यक्ष पशुपति खडकाले बताए। 'वर्षौदेखि नदी तर्न दुःख झेल्दै आएका यहाँका जनताका लागि पुलले सजिलो बनाइ दिएको छ,' उनले भने, 'अब वारिपारिको सडकलाई जोड्ने पक्की पुल पनि बनेमा सजिलो हुने थियो।यसका लागि पनि आवश्यक पहल भैरहेको छ ।'
कुल २ करोड ९१ लाख लगानीमा निर्माण सम्पन्न भएको यो पुल तोकिएको अवधीभन्दा ६ महिना अगाबै सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि नरहरी खड्काले बताए। कुल ३ सय ५५ मिटर लम्बाई रहने भनिए पनि निर्माणका क्रममा बढेर ३ सय ५७ मिटर १० सेन्टिमिटर लम्बाई कायम भएको खड्काको भनाई छ।
गाउँमा उत्पादन हुने तरकारी, खाद्यान्न लगायतका अन्य उत्पादन सदरमुकामसम्म लगेर बिक्री गर्न पनि यो पुल बनेपछि सहज भएको स्थानीय चन्द्रकला खड्काले बताइन्। पुल नहुँदा यहाँका बासिन्दाले घरघरबाट चन्दा उठाएर हिउँदमा साँघु हाल्ने गरेका थिए।भने बर्खामा सक्नेले जंघार तर्ने र नसक्नेले गाउँभन्दा टाढा रहेको पुल तरेर यात्रा गर्थे।
विगतमा पोखराबाट पुल भएको स्थान पूर्वको अमलाचौर र पश्चिमको बोजेरी जान करिब एक घण्टा पैदल यात्रा गर्नुपर्थ्यो।पुल बनेपछि यो सबै समस्या टरेको छ।
अस्थायी रुपमा वारपार गर्नका लागि तत्कालिन समयमा बनाइएको काठको साँघु ।