लालपुर्जा नहुँदा ‘दासजस्तो’
गोरखा : पालुङ्टार नगरपालिका–६ पौवाटार रामेको डिहीमा नौ घर कुमाल छन् । १९९७ मा साहुको कुरियर बाधा बस्न यहाँ आएका दुई घरका सन्तान अझै सुकुम्बासी छन् ।
लालपुर्जा नभएका कारण उनीहरू भूकम्पले भत्काएको घर पुनर्निर्माणबाट वञ्चित छन् । गाईखुरका ओमदत्त पन्तको घरमा बसेका धनबहादुर कुमाल र नारायणप्रसाद मल्लको घरमा बसेका महेश्वर कुमाललाई बन्दीपुरका रेवतीप्रसाद पियाले ४ सय रोपनी जग्गा कुरुवा राखेका थिए । ‘उनीहरूसँग जग्गा छैन भनूँ भने ४ सय रोपनी छ’, स्थानीय वसन्त बराकोटीले भने, ‘ तर, लालपुर्जा नहुँदा यहाँका कुमाल समुदाय धेरै कुराबाट वञ्चित छन् ।’
भूकम्पपीडितले पाउने अनुदानबाट वञ्चित भएको उनको भनाइ छ । ‘यहाँका सबैको घर भूकम्पले भत्कियो’, उनले भने, ‘अरूले घर ठड्याइसके तर यहाँका कुमालको बनेको छैन ।’ आफूले कमाएको जग्गा आफ्नो नाममा नहुँदा दुःख गरेर खाँदा पनि अरूको दासजस्तो भएर बाँच्नुपरेको स्थानीय खड्कबहादुर कुमालको दुखेसो छ । ‘बाजेको पालादेखि यहाँ आएको हो हामी’, उनले भने, ‘यही बारीमा गरेर खाएको तर के गर्नु आफ्नो नाममा छैन । वर्ष, दुई वर्षमा बन्दीपुरे साहुका नाति–पनाति गाडीमा हरर आउँछन् । बारी हेरेर फर्किन्छन् । त्यसैले हामी बन्दीपुरेको दास हौंजस्तो लाग्छ ।’
लालपुर्जामा मोहीको नाम लेख्ने ठाउँमा मात्र जग्गा कमाइखाने कुमाल समुदायको नाम छ । ‘मोहीमा आफ्नो नाम नभएर हुने रहेनछ । जग्गाधनीको नाममै चाहिने रहेछ’, स्थानीय सम्झना कुमालले भनिन्, ‘आफ्नो नाममा लालपुर्जा बनाउन गोरखा पनि धेरै पटक धायौं । खर्च मात्र भयो, काम भएन ।’
उनका अनुसार कसेरीफाँटको हजार रोपनी जग्गा पनि बन्दीपुरे साहुले मोहीकै जिम्मा छाडेका छन् । फाँटको विवादले आफूहरूलाई पनि समस्या भएको उनले गुनासो गरिन् ।