मुहार फेर्दै जनकपुर
जनकपुरधाम : धार्मिक एवं सांस्कृतिक महत्व बोके पनि जनकपुर फोहोर सहरको रुपमा चिनिन्थ्यो । जनकपुर आएका पर्यटक र आगन्तुक यहाँबाट फर्किएपछि मनमा कुरुप छाप बोकेर फर्कन बाध्य हुन्थे । जताततै थुपारिएको फोहोर, अस्तव्यस्त सडक, दुर्गन्ध, अव्वस्थित बजारले सहरको पहिचान बिगारेको थियो । तर, पछिल्लो समय सरसफाइ अभियानले जनकपुरको पहिचान फेरिन थालेको छ ।
स्थानीयमा सरसफाइप्रति बढ्दो जागरुकताले नगरक्षेत्रको रुप फेरिन थालेको हो । पछिल्लो समय स्थानीयले समूह बनाएर सरसफाइ गरिरहेको देख्न पाइन्छ । जानकी मन्दिर, बाहबिग्घा मैदान, रेल्वे स्टेशनदेखि मुख्यमुख्य चोकमा स्थानीयले समूह बनाएर सरसफाइ अभियान चलाइरहेका छन् । ‘जनकपुरको बिग्रिएको छवि सुधार्न सरसफाइ पहिलो आवश्यकता हो’, सामाजिक अभियन्ता वैद्यनाथ साहले भने, ‘पहिले काठमाडौं वा कतै जाँदा जनकपुरको नाम लिनसाथ नाक खुम्चाएर फोहोरको कुरा गर्थे । त्यस्तो वातावरणको अन्त्य गर्नु पर्छ ।’
सरसफाइ गर्ने समूहले स्थानीयलाई चेतना फैलाउने काम पनि गरीरहेको छ । आफ्नो घर अगाडी र वरिपरी फोहोर नफाली त्यसको व्यवस्थापन गर्न नगरवासीलाई उत्प्रेरित गर्ने काम भइरहेको सामाजिक अभियन्ताहरुको भनाइ छ । जनकपुरमा स्थानीय स्तरबाट भएको स्वच्छता अभियानको सबभन्दा ठूलो उदाहरण गंगासागर पोखरी बनेको छ । ५ वर्षअघि यो पोखरीमा फोहोरको डंगुर हुन्थ्यो । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस पोखरीमा वार्षिक हजारौं श्रद्धालु स्नान तथा पुजापाठ गर्न आउँथे । तर पोखरीमा फोहोर फाल्ने गरिएकाले कुरुप बनेको थियो । कतिपय स्थानीयले आफ्नो घरको सेफ्टी ट्यांकको पाईप समेत पोखरीमा बगाउने गरेका थिए ।
२०७० फागुन ११ गतेदेखि जुझारु स्थानीयको पहलमा सरसफाइ अभियान सुरु भयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रामअषिश यादव, प्रा. विजय दत्त, युवा अभियन्ता सरोज मि श्र, नागरिक समाजका अगुवा अमरचन्द्र अनिललगायतको अगुवाइमा अभियान सुरु भएको थियो । एक वर्षसम्म पोखरीको सघन सफाइ भयो । त्यसपछि विस्तारै गंगासागरको मुहार फेरिँदै गएको हो ।
स्थानीयकै महलमा २०७१ जेठ २५ गतेदेखि गंगाआरती सुरु गरियो । पछिल्लो समय गंगासागर पोखरीमा हुने आरती जनकपुर आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । गंगासागर पोखरी आसपास पर्यटक घुम्ने र वि श्राम गर्ने थलो बनेको छ । ‘आफ्नो नगरलाई सफा बनाउन जनता आफैं जागेका छन्’, स्वच्छता अभियानका संयोजक तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भने, ‘जनता जागरुक भए पनि प्रदेश सरकार वा स्थानीय सरकार सरसफाइप्रति गम्भीर देखिएको छैन् ।’ प्रदेश वा स्थानीय तहसँग सरसफाइ बारे ठोस योजना नभएको उनको ठम्याई छ ।